भावनात्मक गहिराइ बोकेको ‘मिरमिरे’को टिजर सार्वजनिक



काठमाडौं – लेखक तथा निर्देशक यम शेर्पाको नयाँ चलचित्र ‘मिरमिरे’ को टिजर सार्वजनिक गरिएको छ। आगामी माघ १ गते बाट देशभर प्रदर्शनको तयारीमा रहेको पारिवारिक तथा भावनात्मक कथावस्तुमा आधारित यस चलचित्रको टिजरले दर्शकको ध्यान खिच्ने प्रयास गरेको छ।

सार्वजनिक टिजरमा मुख्य कलाकारहरूको अभिनय र चलचित्रको केन्द्रीय विषयवस्तुलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। टिजरले विशेष गरी आमाको अनुपस्थितिमा बुवा र छोरीबिचको गहिरो भावनात्मक सम्बन्ध र उनीहरूको जीवनयात्रालाई सशक्त रूपमा चित्रण गरेको छ।

अभिनेता दयाहाङ राई बुवाको भूमिकामा छन्, जसले आफ्नी छोरी शाइसा गौचनको लालन पालन र शिक्षाको सम्पूर्ण जिम्मेवारी एक्लै उठाएका छन्। टिजरमा उनलाई विद्यालयमा सामान्य काम गर्दै छोरीको भविष्य सुनिश्चित गर्न सङ्घर्ष गरिरहेको देखाइएको छ। यता, छोरीले भने जानअञ्जानमा नै आमाको अभाव महसुस गरिरहेको र बुवाले पनि त्यो अभाव पूर्ति गर्ने प्रयासमा गुज्रिरहेको संवेदनशील पक्षलाई टिजरले उजागर गरेको छ।

यससँगै, अभिनेत्री सिर्जना निङलेखु शिक्षिकाको भूमिकामा छिन्, जसको चरित्रले कथामा त्रिकोणात्मक प्रेम सम्बन्धको छनक दिएको छ। टिजरका केही संवाद र दृश्यहरूले दयाहाङ राई र अर्का कलाकार प्रकाश सपूतसँग उनको प्रेम सम्बन्ध रहेकोतर्फ सङ्केत गरेको छ। तथापि, टिजरको अधिकांश भागमा दयाहाङ राईको भावनात्मक अभिनय र बुवाको सङ्घर्षमय जीवनले प्रमुख स्थान ओगटेको छ।

‘मिरमिरे’को कथावस्तुले आमाको अभावमा हुर्केका सन्तान र उनीहरूलाई हुर्काउने बुवाको इमोसनल जर्नी (भावनात्मक यात्रा) लाई मुख्य रूपमा पच्छ्याएको टिजरले स्पष्ट पारेको छ। पारिवारिक कथावस्तुको यो संवेदनशील प्रस्तुतिले दर्शकको मन जित्न सक्ने बलियो सम्भावना रहेको सङ्केत टिजरले दिएको छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुसँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu