
काठमाडौं – नेपाली चलचित्र ‘एक्लो’ ले अन्तर्राष्ट्रिय सिनेमा जगतमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको छ। यसले अमेरिकाको न्युयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियरको अवसर प्राप्त गरेको छ। यो हलमा यसअघि क्रिस्टोफर नोलन, मार्टिन स्कोर्सेजी, मार्भेल स्टुडियोजका विशेष प्रोजेक्टहरूका साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स, मेरिल स्ट्रीप जस्ता विश्व चर्चित हलिउड स्टारहरूसँग सम्बन्धित फिल्महरूको मात्र स्क्रिनिङ वा प्रिमियर हुँदै आएको थियो।
यस्तो विश्व स्तरीय र विशिष्ट मञ्चमा औपचारिक प्रिमियर हुने पहिलो नेपाली चलचित्र बनेर ‘एक्लो’ आगामी डिसेम्बर २८ तारिखमा प्रदर्शन हुनेछ। निर्देशक प्रदीप शाहीका अनुसार, म्युजियम अफ द मुभिङ इमेजको हलमा फिल्म प्रदर्शन हुनु आफैँमा नेपाली सिनेमाका लागि ठुलो सम्मान हो।
प्रिमियरमा फिल्मका मुख्य कलाकार तथा प्राविधिक टिमको उपस्थिति रहनेछ। निर्देशक प्रदीप शाही, अभिनेता प्रदीप खड्का, विजय लामा, अभिनेत्री बेनिशा हमाल, तथा कविता नेपाली स्वयम् प्रिमियरमा सहभागी हुनेछन्।
साइन्स-फिक्सन विधामा आधारित यो चलचित्र आगामी पुस १७ गते देखि नेपालसहित विश्वका विभिन्न बजारमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। बेलायतमा रहेर फिल्म निर्माणमा सक्रिय निर्देशक प्रदीप शाहीको यो तेस्रो निर्देशन हो। उनले हलिउड स्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यका साथ यो फिल्म निर्माण गरेका हुन्।
यस चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा बेलायती अभिनेता जेमी बेकन को समेत महत्त्वपूर्ण भूमिका रहेको छ। विनोद सुवेदी ‘क्षितिज’ यस फिल्मका कार्यकारी निर्माता हुन्।






