एसिया प्यासिफिक फिल्म महोत्सवमा नेपालको ‘आँखा’ बन्यो उत्कृष्ट, साम्भालालाई पनि पुरस्कार



काठमाडौं – निर्देशक जौन योञ्जनको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आँखा’ ले अन्तर्राष्ट्रिय मञ्चमा सफलता प्राप्त गरेको छ। हालै मलेसियामा सम्पन्न प्रतिष्ठित एसिया प्यासिफिक फिल्म महोत्सवको ६२ औँ संस्करणमा यो चलचित्र ‘उत्कृष्ट फिल्म’ घोषित भएको हो ।

नेपाललाई अन्तर्राष्ट्रिय सिने-जगत्मा महत्त्वपूर्ण उपलब्धि दिलाउँदै ‘आँखा’ ले यो ऐतिहासिक अवार्ड जित्न सफल भएको हो । महोत्सवमा पुरस्कार ग्रहण गर्नका लागि चलचित्रकी प्रमुख अभिनेत्री स्मिता लामिछाने मलेसियाको राजधानी क्वालालम्पुर पुगेकी थिइन् ।

चलचित्रले अवार्ड जितेपछि अभिनेत्री लामिछानेले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, “यो हाम्रो सम्पूर्ण टिमका लागि निकै ठुलो उपलब्धि हो । यो कथा र हाम्रो यस यात्रामा विश्वास गर्ने सम्पूर्ण कलाकार, प्राविधिक टोली र प्रिय दर्शकहरूलाई म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

यो चलचित्रमा स्मिता लामिछानेसँगै पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । यस चलचित्रले सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसहरूको कथा, सङ्घर्ष र यथार्थ लाई गहिरो रूपमा चित्रण गरेको छ ।

सो फेस्टिभलमा भेनिस, कान्स, बर्लिन्, लोकार्नो जस्ता विश्व प्रतिष्ठित फेस्टिभलमा प्रिमियर भइसकेका चलचित्रहरू प्रतिस्पर्धामा थिए। अर्को नेपाली चलचित्र ‘साम्भाला’ले पनि उत्कृष्ट ब्याकग्राउन्ड स्कोरमा पुरस्कार प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu