
काठमाडौं – नेपाली चलचित्र उद्योगको नियमन तथा विकासका लागि निकै महत्त्व राख्ने चलचित्र सेन्सर प्रक्रियामा व्यापक सुधार ल्याउने उद्देश्यका साथ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्रकर्मीहरूसँग एक छलफल कार्यक्रम सम्पन्न भएको छ।
आइतबार मन्त्रालयमा आयोजित ‘चलचित्र सेन्सर बोर्डको कार्यविधि, समस्या र समाधानका उपायहरू’ विषयक यस विमर्शले वर्तमान सेन्सर प्रणालीमा रहेका व्यवहारिक जटिलताहरू र पारदर्शी कार्यविधिको आवश्यकतामाथि विमर्श गरेको छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेल र सचिव राधिका अर्याल को उपस्थिति रहेको थियो। चलचित्र क्षेत्रको नियमनकारी निकायका तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी., सेन्सर बोर्डका प्रमुख उदय राना मगर, चलचित्र विकास बोर्डका सदस्य सचिव राजेश कुमार थापा लगायत सदस्यहरू लोकनाथ सुवेदी र ममता बास्तोलाको सक्रिय सहभागिता रह्यो।

छलफलमा चलचित्र उद्योगको लेखन, निर्देशन, निर्माण, वितरण, व्यवस्थापन तथा पत्रकारिताजस्ता विभिन्न विधाको प्रतिनिधित्व गर्ने अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। जसमा लेखक दीपकराज गिरी, पत्रकार प्रकाश सुवेदी, निर्देशक/निर्माता कृषा चौलागाई, वितरक/निर्माता करण श्रेष्ठ, लेखक शिवम अधिकारी, निर्देशक जनक खड्का, निर्माता सरोज न्यौपाने, प्राविधिक पुरुषोत्तम प्रधान लगायत थुप्रै चलचित्रकर्मीहरूले आफ्ना रचनात्मक सुझावहरू प्रस्तुत गरे।
छलफलको निष्कर्षमा, चलचित्रकर्मीहरूबाट प्राप्त भएका सबै सुझावहरूलाई मन्त्रालयले गम्भीरताका साथ अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यी सुझावहरूलाई आधार मानेर आवश्यक कार्यविधि संशोधन गर्ने र ऐनमै समावेश गर्नुपर्ने विषयहरूलाई राष्ट्रिय सभामा सुझावका रूपमा प्रस्तुत गर्ने गरी नीतिगत सुधारको प्रक्रिया तत्काल अगाडि बढाइने मन्त्रालयले जनाएको छ।




