‘गोबर गणेश’को शीर्ष गीतमा बल्छीको स्वर, पढाइमा कमजोर हुँदाको सामाजिक सकसमा व्यङ्ग्य



काठमाडौं – हास्य कलाकार मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे) को निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। आगामी माघ १ गतेलाई प्रदर्शन मिति तय गरेको निर्माण पक्षले चलचित्रको मूल भाव र कथावस्तुको परिवेश झल्काउने गरी निर्माण गरिएको ‘क्याची’ शैलीको गीत बजारमा ल्याएको हो। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यस गीतमा निर्देशक मरीचमान श्रेष्ठ स्वयम्‌को स्वर रहेको छ भने बाबुल गिरीले शब्द तथा सङ्गीत सिर्जना गरेका छन्।

गीतको भिडियो र सङ्गीतले चलचित्रको आधारभूत लय कमेडी रहेको प्रस्ट पारेको छ। विशेष गरी अन्य क्षेत्रमा अब्बल र फुर्तिलो भए पनि पढाइमा कमजोर हुँदा एउटा व्यक्तिले समाज र साथीभाइका बीचमा भोग्नुपर्ने नकारात्मक प्रभावलाई गीतमा रोचक ढङ्गले उतारिएको छ। शैक्षिक सफलता नहुँदा व्यक्तिको आत्मविश्वासमा कसरी गिरावट आउँछ र त्यसले जीवनको अन्य पक्षमा कस्तो असर पार्छ भन्ने गम्भीर विषयलाई चलचित्रले रमाइलो शैलीमा प्रस्तुत गर्न खोजेको सङ्केत गीतले दिएको छ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा मरीचमान श्रेष्ठलाई प्रमुख भूमिकामा देखाइएको छ भने अभिनेत्री वर्षा सिवाकोटी र कलाकार निर्मल शर्माले पनि भिडियोमा राम्रो स्थान पाएका छन्। बल्छी ध्रुवे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र हाल पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा छ। शिवराम श्रेष्ठको छायाङ्कन, विपिन मल्लको सम्पादन र योगेश काजी शाहको पार्श्व सङ्गीत रहेको यस चलचित्रमा मरीचमान र वर्षाका साथै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, माओत्से गुरुङ, बुद्धि तामाङ र रमेश बुढाथोकी लगायतका स्थापित कलाकारहरूको अभिनय रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu