‘प्रतिवैरम’को फर्स्ट लुकमा मधेसको विद्रोह, सम्राट् र सुप्रज्ञाको सशक्त अवतार



काठमाडौं – निर्देशक रोशन दासको निर्देशनमा तयार भएको चलचित्र ‘प्रतिवैरम’को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यसको गम्भीर र शक्तिशाली कथावस्तुको सङ्केत दिएको छ। मधेसको सामाजिक तथा राजनीतिक परिवेशलाई मूल विषयवस्तु बनाएको यस चलचित्रको पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजन मार्फत कथाको गहिराइलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। पोस्टरको केन्द्रमा रहेका मुख्य कलाकार द्वय सम्राट् दास र सुप्रज्ञा शर्माको उपस्थितिमा सङ्घर्ष, संवेदना र विद्रोहको त्रिकोणात्मक भाव प्रस्ट रूपमा देख्न सकिन्छ।

विशेष गरी मुख्य अभिनेता सम्राट् दास यस पोस्टरमा निकै फरक र प्रभावशाली अवतारमा देखिएका छन्। उनको आँखामा झल्किएको आक्रोश, शारीरिक हाउभाउ र क्यारेक्टर लुकले पात्रले बोकेको जिम्मेवारी र भोग्नुपरेको सङ्घर्षलाई जीवन्त बनाएको छ। निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राटको डेब्यु चलचित्र भए तापनि यसमा उनले निभाएको भूमिका उनको करियरकै एउटा महत्त्वपूर्ण र स्मरणीय कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ।

यसै गरी, अभिनेत्री सुप्रज्ञा शर्माको भावनात्मक प्रस्तुतिले पोस्टरलाई थप अर्थपूर्ण बनाएको छ। उनको अनुहारमा देखिने पीडा, प्रेम र भरोसाको मिश्रणले चलचित्रको मानवीय पक्षलाई बलियोसँग स्थापित गरेको छ। सम्राट् र सुप्रज्ञाका साथमा चलचित्रमा वीरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के. र रामेश बुढाथोकी जस्ता कलाकारहरूको अभिनय रहनेछ।

मधेसका वास्तविक कथा, त्यहाँको सौन्दर्य र विद्यमान सामाजिक-राजनीतिक समस्याहरूलाई यथार्थपरक ढङ्गले पर्दामा उतार्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको निर्देशक दासले बताएका छन्। उनकै कथा र युवराज भट्टराईको पटकथा रहेको यस चलचित्रले मधेसको जनजीवन र संवेदनालाई दर्शकमाझ गहिरोसँग पुर्‍याउने लक्ष्य राखेको छ। सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेलले सह-निर्देशन गरेको यस चलचित्रलाई रेज इन्टरटेनमेन्टले किङ वाईटीसँगको सहकार्यमा निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu