‘एक्लो-१’ को कलेज दौडाहा र युवा पुस्ताको उत्साह



काठमाडौं – नेपाली चलचित्र क्षेत्रका लागि ‘साइन्स फिक्सन’ विधा नितान्त नयाँ र चुनौतीपूर्ण मानिन्छ। हलिउड र बलिउडमा दशकौँदेखि यस्ता चलचित्रहरूले बजार पिटिरहेका बेला नेपालमा पहिलो पटक विज्ञान र प्रविधिलाई मुख्य विषयवस्तु बनाएर चलचित्र ‘एक्लो-१’ निर्माण भएको छ। दुई साताअघि सार्वजनिक भएको यसको ट्रेलरमा देखाइएको वैज्ञानिक आविष्कार, अन्तरिक्ष यात्रा र भविष्यको नेपालको परिकल्पनाले यति बेला सिने क्षेत्रमा नयाँ बहस छेडिदिएको छ।

यो नौलो विधा र विषयवस्तु युवा पुस्ताका लागि बढी सान्दर्भिक हुने ठहर गर्दै निर्माण टोलीले आफ्नो प्रचार अभियानलाई पनि कलेज केन्द्रित बनाएको छ। चलचित्रका मुख्य कलाकारदेखि निर्देशकसम्म यति बेला काठमाडौँका विभिन्न कलेजहरूमा पुगेर ‘जेनजी’ पुस्ताका विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेका छन्। चलचित्रको प्रविधि र यसले बोकेको सन्देशबारे नयाँ पुस्तालाई बुझाउन निर्माण पक्ष निकै सक्रिय देखिएको हो।

यसै क्रममा चलचित्रको टोली हालै काठमाडौँको मन्डीकाटारस्थित ‘गेट कलेज’ पुगेको थियो। त्यहाँ टुरिजम र हस्पिटालिटी विषय अध्ययनरत विद्यार्थीहरूसँग अभिनेता प्रदीप खड्का, अभिनेत्री कविता नेपाली र निर्देशक प्रदीप शाहीले चलचित्रका विविध पक्षमा छलफल गरे। प्रचारको यो सिलसिला मङ्गलवार ललितपुरको ‘क्याम्पियन कलेज’ सम्म पुग्यो, जहाँ विद्यार्थीहरूले चलचित्रको टोलीसँग उत्साहजनक रूपमा साक्षात्कार गरेका थिए।

आगामी १७ पुसबाट देशभरका हलमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा नेपाली चलचित्रका स्थापित र उदीयमान कलाकारहरूको ठुलो समूह देखिनेछ। प्रदीप खड्का र कविता नेपालीसँगै विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी र सुरजसिंह ठकुरीको अभिनय रहेको यस चलचित्रमा बेलायती अभिनेता जेमी बेकनको पनि विशेष उपस्थिति छ। एनआरएन समूहको ठुलो लगानी रहेको यो चलचित्रमा अभिनेता प्रदीप खड्का स्वयम् पनि निर्माताको भूमिकामा रहेका छन्, जसले गर्दा यस चलचित्रप्रति दर्शक र समीक्षक दुवैको चासो उच्च रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu