‘परिवर्तन’को ‘पाकेको चिउरी’ सार्वजनिक: सुशील र अञ्जनाको लोभलाग्दो नृत्य



काठमाडौं – नेपाली चलचित्र ‘परिवर्तन’को निर्माण पक्षले क्रिसमसको साङ्गीतिक उपहार स्वरूप चलचित्रमा समावेश ‘पाकेको चिउरी’ बोलको गीत सार्वजनिक गरेको छ। आगामी माघ ९ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत आफ्नो नयाँ गीतको भिडियो दर्शकमाझ ल्याएको हो।

सार्वजनिक भिडियोमा चलचित्रका मुख्य जोडी सुशील श्रेष्ठ र अञ्जना बराइलीको केमेस्ट्री निकै सुहाउँदो देखिएको छ। लोकलयमा आधारित यस प्रेमिल गीतमा यी दुई कलाकारले कोरियोग्राफर रामजी लामिछानेको निर्देशनमा छमछमी नाच्दै दर्शकलाई मनोरञ्जन दिएका छन्। गाउँले परिवेशको मौलिकता र प्रेम कथालाई जोडिएको यस गीतलाई शिव ढकालले सुन्दर ढङ्गले क्यामेरामा कैद गरेका छन्।

निर्देशक विजय केरुङले चलचित्रको कथाको मागअनुसार नै गीतमा गाउँघरका टिपिकल शब्दहरू प्रयोग गरिएको जानकारी दिएका छन्। मौलिक शब्द र लयका कारण यो गीतले आम दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिएको छ। एसडी योगी र रेश्मा पुनको सुमधुर स्वर रहेको यस गीतमा सङ्गीत स्वयम् योगीकै रहेको छ भने गीतका शब्दहरू मौसम अर्यालले रचना गरेका हुन्।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील र अञ्जनाका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे जस्ता अनुभवी कलाकारहरूको मुख्य भूमिका रहेको छ। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको यो चलचित्र एक्सन र सस्पेन्स विधामा आधारित छ। शिवम् अधिकारीको पटकथा तथा संवाद, बन्दे प्रसादको सम्पादन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यस चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ। यसअघि सार्वजनिक पोस्टर र टिजरबाटै चर्चा बटुलेको ‘परिवर्तन’ माघको दोस्रो साताबाट प्रदर्शनमा आउँदैछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu