
काठमाडौं – थ्रिलर जनराको नयाँ नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को आधिकारिक टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले क्रिसमसको अवसर छोपेर मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत चलचित्रको रहस्यमयी झलक बाहिर ल्याएको हो। सार्वजनिक टिजरले दर्शकलाई प्रेम र रोमान्सभित्र लुकेको प्रतिशोध, हत्या र त्रासदीको एउटा अँध्यारो संसारतर्फ सङ्केत गरेको छ।
अभिनेता महेश त्रिपाठी र अभिनेत्री बेनिशा हमालको संवादबाट सुरु हुने टिजरले मानवीय मनोविज्ञानका जटिल पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। अविश्वास र खराब नियतले भरिएका पात्रहरूले कसरी एक-अर्काको अस्तित्व मेटाउन दाउपेच खेलिरहेका छन् भन्ने दृश्यहरू टिजरमा शक्तिशाली लाग्छन्। प्रहरीले बयान लिइरहेको दृश्य र अपराधका शृङ्खलाबद्ध घटनाक्रमले चलचित्रको कथा कानुनी र मानसिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पारेको छ। चलचित्रको गम्भीर वातावरणलाई न्याय दिन यसको ब्याकग्राउन्ड स्कोर र रङ संयोजनले थप मद्दत पुर्याएको देखिन्छ।
टिजर सार्वजनिकसँगै निर्माण टोलीले चलचित्रको प्रदर्शन मितिमा समेत हेरफेर गरेको छ। यसअघि पुस १० गतेलाई प्रदर्शनको लक्ष्य राखिएको भए तापनि अब यो चलचित्र आगामी माघ १६ गतेबाट मात्र हलमा लाग्ने भएको छ। बलिराम चौहानको निर्देशनमा तयार भएको यस सिनेमामा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान् देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी जस्ता स्थापित कलाकारहरूको मुख्य अभिनय रहेको छ भने बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मालाई देख्न सकिन्छ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई नरेन्द्र मैनालीले छायाङ्कन गरेका हुन् भने उनी र अभिनेत्री बेनिशा हमाल स्वयम् चलचित्रका कार्यकारी निर्माता हुन्।
टिजर:





