
काठमाडौं – आगामी फागुन १ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले चलचित्रको बलियो निर्माण पक्ष र गम्भीर विषयवस्तुलाई उजागर गर्दै दर्शकमाझ कौतुहलता पैदा गरेको छ। मानवीय संवेदना र मनोविज्ञानको गहिराइलाई पर्दामा उतार्न खोजिएको यो चलचित्रले विशेष गरी मानिसभित्रै बास गर्ने देवत्व र दानवत्वको सङ्घर्षलाई मुख्य कथाको आधार बनाएको छ।
लक्ष्मण सुनारको कथा र निर्देशनमा तयार भएको यस चलचित्रमा मानिसको मनमा रहने परिश्रम, मिहिनेत र इमानदारितालाई देवताको रूपमा व्याख्या गरिएको छ भने लोभ, लालच र मोह जस्ता नकारात्मक पक्षलाई राक्षसको रूपमा चित्रण गरिएको छ। मानिसले आफ्नो अन्तर्मनको देवतालाई मारेर जब राक्षसी प्रवृत्तिलाई अँगाल्छ, त्यसपछि समाज र व्यक्तिगत जीवनमा उत्पन्न हुने जटिल परिस्थितिलाई निर्देशक सुनारले प्रस्तुत गरेका छन्। महेश दवाडीको लेखन रहेको चलचित्रलाई निसाल पौडेलले छायाङ्कन गरेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, अर्पण थापा, उत्तम प्रधान, नाजिर हुसेन, वर्षा राउत, र सुलक्षण भारती लगायतका कलाकारहरूको अभिनय रहेको छ। टिजरको अन्त्यमा अभिनेत्री परीक्षा लिम्बुलाई रहस्यमय ढङ्गले प्रस्तुत गरिएको छ, जसलाई निर्माण पक्षले चलचित्रको ‘सरप्राइज प्याकेज’ को रूपमा अर्थ्याएको छ। किरण नेपालीको निर्माणमा लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा तयार भएको यस चलचित्रमा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको सङ्गीत तथा एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ।
टिजरः





