
काठमाडौं – मधुसूदन भट्टराईको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘हामी तीन भाइ’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण पक्षले बुधवार चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत १३ गतेलाई प्रदर्शन मितिको रूपमा पक्का गरेको हो । पोस्टरमा चलचित्रका तीन मुख्य पात्रहरू विनोद न्यौपाने, फलित राई र कुशल बिस्टलाई निकै खुसी र रोमान्टिक मुडमा देखाइएको छ, जहाँ उनीहरू आकाशतर्फ हेर्दै कुनै सफलताको उत्सव मनाइरहेको झल्को पाइन्छ ।
प्रसिद्धि सिने आर्ट्स प्रालीको ब्यानरमा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा कलाकारहरूको ठुलो जमघट रहेको छ । निर्देशक भट्टराईकै कथा रहेको यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिस्ट, आश्मा गिरी र जाहन्वी बस्नेतको मुख्य अभिनय छ । साथै, नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरू राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईँ, सुष्मा निरौला, यादव देवकोटा (सरापे) लगायतको पनि भूमिका रहेको छ ।
साजित महत प्रस्तुत कर्ता रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखन शिवम् अधिकारीले गरेका हुन् भने शिव ढकालको छायाङ्कन र बनिश शाहको सम्पादन रहेको छ ।



