
काठमाडौं – प्रदर्शनको मिति नजिकिँदै गर्दा नेपाली चलचित्र ‘आ बाट आमा’ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव जमाउन थालेको छ । निर्माण पक्षले सार्वजनिक गरेका प्रचार सामग्री र हालै रिलिज भएको गीतलाई दर्शकले उत्साहजनक साथ दिएपछि यसको वैदेशिक प्रदर्शन अधिकार खरिद गर्न वितरकहरूबीच प्रतिस्पर्धा देखिएको हो । यही क्रममा चलचित्रको माल्टा प्रदर्शन अधिकार बिक्री भएको छ ।
वैदेशिक रोजगारीका लागि परदेशिएका नेपालीहरूको मार्मिक कथा र संवेदनालाई मुख्य विषयवस्तु बनाएको यस चलचित्रको माल्टा प्रदर्शनका लागि निर्माण पक्ष र त्यहाँका वितरक सुवास ढकाल तथा विकास ढुङ्गानाबिच औपचारिक सम्झौता भएको छ । माल्टामा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै त्यहाँ चलचित्र वितरणमा सक्रिय ढकाल र ढुङ्गानाले चलचित्रको प्रदर्शन अधिकार लिएका हुन् । निर्देशक चन्द्र पन्तले माल्टाको लागि चलचित्रको अधिकार आकर्षक मूल्यमा बिक्री भएको पुष्टि गर्दै विदेशमा चलचित्रप्रति देखिएको आकर्षणले टोलीलाई थप उत्साहित बनाएको बताएका छन् ।
आगामी माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रलाई आर्या इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो । लामो समयपछि पर्दामा देखिन लागेकी अभिनेत्री बिपना थापा र अभिनेता पल शाहको मुख्य भूमिका रहेका कारण पनि यो चलचित्र निकै प्रतीक्षित बनेको छ । चलचित्रमा पल र बिपनाका साथै भारतीय कलाकार प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिस्ट र बेगम नेपाली जस्ता कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ ।
स्वयं निर्देशक पन्तकै कथा तथा पटकथामा तयार भएको यस चलचित्रमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको सङ्गीत सुन्न सकिन्छ । गम्भीर बिस्ट र दिलीप ओखेडाले चलचित्रका गीतहरूलाई आकर्षक ढङ्गले कोरियोग्राफी गरेका छन् भने नवराज उप्रेतीको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् ।



