‘भाइरल गोर्खे’ को ट्रेलर: टिकटकको दुनियाँ र वास्तविक जीवनको द्वन्द्व



काठमाडौं – प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा चर्चा कमाउने नाममा पछिल्लो समय नेपाली समाजमा हुर्किएको ‘भाइरल’ बन्ने प्रवृत्तिलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी माघ १ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रले बुधवार राजधानीमा आयोजित एक विशेष समारोहका बीच झन्डै चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै आफ्नो कथावस्तु र प्रस्तुतिको झलक दिएको हो।

विशेष गरी टिकटक र अन्य सामाजिक सञ्जालमा लोकप्रियता कमाउनका लागि युवा पुस्ताले गर्ने अनौठा हर्कत र त्यसले निम्त्याउने परिणामलाई चलचित्रले मूल सार बनाएको छ। ट्रेलरमा मुख्य पात्र सौगात मल्ल (गोर्खे) ले सामाजिक सञ्जालमा भ्यूज बटुल्न र चर्चित बन्न गर्ने सङ्घर्षलाई रोचक शैलीमा उतारिएको छ। चलचित्रमा सौगातले एक्सन स्टार शिव श्रेष्ठ जस्तै चर्चित बन्ने सपना देख्ने पात्रको भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा देखाइए अनुसार, भाइरल हुने चक्करमा जोखिमपूर्ण र अनौठा क्रियाकलाप गर्दा गर्दै ऊ एक दिन चर्चाको शिखरमा पुग्छ। तर, रिल लाइफको चमकधमक र वास्तविक जीवनको कठोर यथार्थबीच उत्पन्न हुने अन्तर्विरोधले उसको जीवनमा ल्याउने उतारचढावलाई चलचित्रमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

यस चलचित्रमा सौगात मल्लको जोडीको रूपमा अभिनेत्री सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ। निर्देशक निगम श्रेष्ठले यसअघिका ‘छड्के’, ‘लालपुर्जा’ र ‘छड्के २’ जस्ता चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। ‘भाइरल गोर्खे’ मार्फत उनले वर्तमान नेपाली समाजको घरघरको कथालाई पर्दामा उतारेका छन्। निर्देशक श्रेष्ठका अनुसार यो सिनेमा केवल मनोरञ्जन मात्र नभई सामाजिक सञ्जालको मोहमा फसेको वर्तमान पुस्तामाथि गरिएको एउटा व्यङ्ग्य र प्रश्न पनि हो। उनले आफ्नो निर्देशन क्षमतालाई पूर्ण रूपमा प्रयोग गर्दै दर्शकलाई एउटा मौलिक र सुन्दर चलचित्र दिने कोसिस गरेको दाबी समेत गरेका छन्।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको सहकार्यमा निर्माण भएको यस चलचित्रमा सौगात र सृष्टिका साथै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमला जस्ता स्थापित कलाकारहरूको अभिनय रहेको छ। साथै सामाजिक सञ्जालमा नै चर्चा कमाएका रवि भुजेल र मिस पवीलाई पनि चलचित्रमा देख्न सकिन्छ। 

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu