
काठमाडौं – मधेसको सामाजिक र राजनीतिक परिवेशलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘प्रतिवैरम’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच निर्माण पक्षले चलचित्रको १ मिनेट २९ सेकेन्ड लामो भिडियो सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको टिजरले मधेसको पृष्ठभूमिमा हुने अपराध, राजनीतिक दाउपेच र सामाजिक द्वन्द्वलाई चित्रण गरेको छ। एक्सनलाई विशेष प्राथमिकता दिइएको यस चलचित्रमा दाइजो प्रथा जस्ता सामाजिक कुरीति र दाजु-बहिनीबीचको भावनात्मक सम्बन्धलाई समेत सूक्ष्म रूपमा प्रस्तुत गरिएको देखिन्छ।
यस चलचित्रमार्फत अभिनेता सम्राट दासले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। निर्देशक रोशन दासले सम्राटको यो पहिलो चलचित्र भए तापनि उनको भूमिका र अभिनयले दर्शकको मन जित्ने र उनको करियरमा एउटा बलियो इँटा थप्ने विश्वास व्यक्त गरे।
चलचित्रमा सम्राटको साथमा सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाहा, अलिशा बास्तोला, रोन्नी यादव, बिकि शाह, रमेश बुढाथोकी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। निर्देशक रोशन दासकै कथा रहेको यस चलचित्रको पटकथा युवराज भट्टराईले तयार पारेका हुन्। निर्देशक दासका अनुसार मधेसको वास्तविक सौन्दर्य, त्यहाँका जटिल सामाजिक-राजनीतिक समस्या र जनजीवनको संवेदनामाथि चलचित्रले न्याय गर्ने प्रयास गरेको छ।
रेज इन्टरटेनमेन्ट र किङ वाईटीको सहकार्यमा निर्माण भएको यो चलचित्र बहुभाषिक विशेषतासहित तयार पारिएको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको ‘प्रतिवैरम’ ले व्यापक दर्शक समूहलाई समेट्ने लक्ष्य राखेको छ। कबिर वोडको सम्पादन रहेको यस चलचित्रको डिजिटल अधिकार युना डिजिटलले सुरक्षित गरिसकेको छ।
निर्माण पक्षले चलचित्रलाई आगामी २०८३ सालको जेठ महिनामा देशभरका सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।
टिजरः



