म्युजिक भिडियोको अनुभवपछि ठुलोपर्दामा डिएमएस मल्ल, ‘बम बिहारी’को छायाङ्कन सुरु



काठमाडौं – नेपाली रजतपटमा नयाँ कथा र पात्रको खोजी भइरहेका बेला चलचित्र ‘बम बिहारी’को निर्माण कार्य विधिवत् रूपमा आरम्भ गरिएको छ। बुधवार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजाआजा र शुभ-मुहूर्त गर्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो। झन्डै ५० वटा म्युजिक भिडियो निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाइसकेका निर्देशक डिएमएस मल्लले यसै चलचित्रमार्फत ठुलो पर्दामा डेब्यु गर्दैछन्। आफ्नै लगानी र कथामा आधारित यस चलचित्रलाई लिएर मल्ल निकै उत्साहित देखिएका छन्।

निर्देशक मल्लका अनुसार चलचित्रको छायाङ्कन तालिका एक महिनाको तय गरिएको छ। प्रारम्भिक सात दिन काठमाडौंका विभिन्न स्थानमा दृश्य कैद गरिएपछि निर्माण टोली बाँकी छायाङ्कनका लागि नेपालगन्जतर्फ लाग्नेछ। चलचित्रले नेपाल-भारत सीमा क्षेत्र र पारिवारिक पृष्ठभूमिको एउटा विशेष सामाजिक कथालाई समेट्ने प्रयास गरेको छ। नेपाली आमा र भारतीय बुबाका सन्तानको भोगाइ र सङ्घर्षलाई ‘बम बिहारी’को मुख्य पात्रमार्फत प्रस्तुत गरिनेछ। पछिल्लो समय दर्शकले कलाकारको नामभन्दा पनि कथावस्तु र प्रस्तुतीकरणलाई प्राथमिकता दिने गरेकोले आफ्नो यो प्रयासलाई पनि दर्शकले साथ दिनेमा निर्देशक मल्ल विश्वस्त छन्।

चलचित्रको शीर्षक र मुख्य भूमिका ‘बम बिहारी’मा चर्चित कलाकार सुमन ज्योति न्यौपाने (ल्यांग्री दादा) देखिनेछन्। धेरैजसो म्युजिक भिडियोमा रुचाइएका न्यौपानेले यस पटक पर्दामा आफ्नो नकारात्मक भूमिका रहने खुलाएका छन्। आफ्नै नामको पात्र वरिपरि कथा घुम्ने भएकोले यस चलचित्रलाई उनले आफ्नो करियरको महत्त्वपूर्ण मोड मानेका छन्। यस्तै, सात वर्षको लामो अन्तरालपछि अभिनेत्री झरना रिसालले यसै चलचित्रमार्फत कमब्याक गर्दैछिन्। यसअघि तीन वटा चलचित्रमा अभिनय गरिसकेकी झरनाको लागि यो चौथो प्रोजेक्ट हो।

चलचित्रमा सुरबिर पण्डित, ध्रुव बुढाथोकी, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट क्षेत्री जस्ता कलाकारहरूको अभिनय रहनेछ। प्राविधिक पक्षतर्फ रामेश्वर हुमागाईँको टिमले छायाङ्कनको जिम्मेवारी सम्हालेको छ भने गौतमराज खड्काले सम्पादन गर्नेछन्। अनुपम चौधरीको गीत र सुरेन्द्र बसेलको कोरियोग्राफी रहने यस चलचित्रको व्यवस्थापन सुमन काफ्लेले गरिरहेका छन्। निर्माण पक्षले हालसम्म चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu