
काठमाडौं – राजधानीको सङ्घर्ष र सपनाको उतारचढावलाई पर्दामा उतार्न तयार रहेको चलचित्र ‘गोबर गणेश’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक विशेष समारोहका बीच निर्माण पक्षले चलचित्रको सार झल्किने दृश्यहरू सार्वजनिक गरेको हो। यस चलचित्रले गाउँबाट ठुला सपना बोकेर सहर छिर्ने युवाहरूको बाध्यता र काठमाडौंको कठोर जीवनशैलीको यथार्थलाई मुख्य विषयवस्तु बनाएको छ।
सार्वजनिक ट्रेलरले पढाइमा दक्खल नभएको एक ग्रामीण युवकले सहर आएर भोग्ने मानसिक र भौतिक सङ्घर्षलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। गाउँमा रहँदा कल्पना गरिएको सुकिला-मुकिला सहर र यथार्थको धुलो-धुवाँबीचको अन्तरलाई ट्रेलरमा देखाइएको छ। विशेष गरी, जीविकोपार्जनका लागि फोहोर उठाउने कार्यमा संलग्न हुनुपर्ने अवस्था र त्यसले एउटा व्यक्तिको आत्मसम्मान तथा पारिवारिक सपनामा पार्ने असरलाई चलचित्रले सूक्ष्म ढङ्गले चित्रण गरेको छ। घरमा सुख सयलमा हुर्किएको छोरो सहरको भिडमा अस्तित्व जोगाउन जुधिरहँदा र उसको त्यो अवस्थाबारे आमाले थाहा पाउँदा सिर्जना हुने भावुक क्षणहरू ट्रेलरका सशक्त पक्ष हुन्।
कलाकार मरीचमान श्रेष्ठ (बल्छी धुर्बे)को निर्देशन रहेको यस चलचित्रले आम नेपाली युवाको भोगाइलाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ। बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा निर्देशक श्रेष्ठकै स्वरमा रहेको शीर्ष गीत यसअघि नै चर्चामा आइसकेको छ। चलचित्रमा मरीचमान श्रेष्ठ र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ भने विनोद न्यौपाने, पदम तामाङ, सन्तोष बानियाँ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, बुद्धि तामाङ, विशाल पहाडी, र रमेश बुढाथोकी जस्ता स्थापित कलाकारहरूको अभिनय देख्न पाइनेछ।
ट्रेलर:



