
काठमाडौं – आफ्नो निर्माणमा बनेको पहिलो चलचित्र ‘मन बिनाको धन’बाट उत्साहित गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले दोस्रो चलचित्रको घोषणा गरेका छन्। बुढाथोकीले आफ्नै चर्चित गीत ‘बा-आमा’ को भावलाई समेट्दै सोही नाममा नयाँ चलचित्र निर्माण गर्ने तयारी थालेका हुन्। यस परियोजनाका लागि चलचित्र विकास बोर्डमा नाम दर्ता भइसकेको छ भने टङ्क बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा विष्णुमाया मैनालीले लगानी गर्ने निश्चित भएको छ।
विशेष गरी पारिवारिक र सामाजिक संवेदनालाई मुख्य विषयवस्तु बनाउन लागेको यस चलचित्रमा चर्चित बाल गायक अशोक दर्जी र एआर बुढाथोकी मुख्य भूमिकामा देखिने पक्का भएको छ। अन्य कलाकारहरूको हकमा भने निर्माण पक्षले हाल छनोट प्रक्रियालाई अगाडि बढाइरहेको छ। बुढाथोकीको आफ्नै मौलिक कथामा आधारित रहने यस चलचित्रको पटकथा तथा संवाद लेखनको जिम्मेवारी भने परिपक्व लेखक शिवम् अधिकारीले सम्हालिरहेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रको लेखन कार्य यति बेला अन्तिम चरणमा पुगेको छ। आगामी वैशाखदेखि छायाङ्कनको सेटमा निस्कने लक्ष्य राखिएको छ।





