‘रमिताको पिरती’को गीत ‘जुनी भर’ सार्वजनिक, आना र विनयको साङ्गीतिक प्रेम चर्चा



काठमाडौं – नेपाली चलचित्र ‘रमिताको पिरती’ आगामी माघ २३ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा जुटेको छ। सेरो फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रले प्रदर्शनको मिति नजिकिँदै गर्दा आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएको छ। यस क्रममा निर्माण पक्षले चलचित्रको दोस्रो आधिकारिक गीत ‘जुनी भर’ सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको ‘जुनी भर’ बोलको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय गायक तथा सङ्गीतकार महेश काफ्लेको शब्द, सङ्गीत र स्वर सुन्न सकिन्छ। उनलाई गायनमा चर्चित गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन्। रोमान्टिक मुडमा तयार पारिएको यस गीतको भिडियोमा चलचित्रका मुख्य पात्र आना शर्मा र विनय श्रेष्ठको आकर्षक केमेस्ट्री देख्न सकिन्छ। भिडियोको दृश्यमा विनयले आनालाई फकाउने प्रयास गरिरहेको र आनाले केही नखोजेको जस्तो भावभङ्गी प्रस्तुत गरेकी छिन्, जसले चलचित्रभित्र यी दुई पात्रको प्रेमिल सुरुवातको सङ्केत गरेको बुझिन्छ। सार्वजनिक गीतको भिडियोलाई झोलेइज्म, जेनिश महर्जन र प्रियतनाले छायाङ्कन गरेका हुन् भने कृतिका बरालले कोरियोग्राफी गरेकी छिन्। 

सुदिप्ताको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा विनय र आनाका साथै समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी र थिन्ले लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको साङ्गीतिक पक्षलाई निकै बलियो बनाउन महेश काफ्ले र अस्मिता अधिकारीका अतिरिक्त सुशान्त केसी, समीर श्रेष्ठ र कुशल पोखरेल जस्ता नाम चलेका सर्जकहरूले योगदान दिएका छन्। सागर लम्सालको लगानी रहेको यस परियोजनामा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने एसोसियट निर्माताका रूपमा जोडिएका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu