
काठमाडौं – गत वर्ष नेपाली चलचित्र बजारमा अभूतपूर्व सफलता हासिल गरेको ‘बोक्सीको घर’को निर्माता र निर्देशकको जोडी पुनः एक पटक चलचित्र निर्माणमा आएको छ। अभिनेत्री तथा निर्मात्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीले आफ्नो नयाँ प्रोजेक्ट ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा गरेका छन्।
नयाँ चलचित्रको घोषणा गर्दै अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’को प्रदर्शनकै समयमा आफूहरूले उपयुक्त विषयवस्तु र समय मिलेको खण्डमा पुनः सहकार्य गर्ने वाचा गरेको स्मरण गरिन्। सोही वाचालाई मूर्तरूप दिँदै अहिले ‘पेट्रोल पम्प’ मार्फत यो व्यावसायिक सहकार्य सम्भव भएको उनले बताएकी छिन्। यस चलचित्रमा पनि अघिल्लो हिट प्रोजेक्टकै जस्तो सुलक्षण भारतीको लेखन र निर्देशन रहने पक्का भएको छ भने निर्माणको कमान्ड केकी अधिकारीले नै सम्हाल्ने भएकी छिन्।
सामाजिक ड्रामाको विधामा निर्माण हुने यस चलचित्रको प्रदर्शन मिति विसं. २०८३ का लागि तय गरिएको छ। निर्माण पक्षले हाललाई चलचित्रको शीर्षक र मुख्य टिमको घोषणा गरे पनि अभिनय गर्ने कलाकारहरू र प्राविधिक टोलीको बारेमा भने गोपनीयता नै राखेको छ। कलाकारको छनोट र अन्य प्राविधिक पक्षबारे केही समयपछि विस्तृत जानकारी दिइने तयारीमा निर्माण पक्ष जुटेको छ। यसअघिको सहकार्यमा केकी र सुलक्षण दुवैले अभिनय समेत गरेका थिए।
‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा ११ करोड रुपैयाँभन्दा माथिको सानदार व्यापार गर्दै ब्लकबस्टरको सूचीमा आफ्नो नाम सुरक्षित गरेको थियो।




