
काठमाडौं – नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दका श्रीमान् तथा रेडियो नेपालका वरिष्ठ एवं चर्चित अङ्ग्रेजी समाचार वाचक माइकल चन्द (हरिश चन्द)को शुक्रवार बिहान असामयिक निधन भएको छ। क्यान्सरसँग लामो समयदेखि सङ्घर्षरत चन्दको ७७ वर्षको उमेरमा निधन भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन्।
२००६ सालमा सुदूरपश्चिममा जन्मिएका माइकल चन्द रेडियो नेपालका परिचित आवाजका रूपमा स्थापित थिए। सन् १९७० को दशकदेखि रेडियो नेपालमा अङ्ग्रेजी समाचार वाचकका रूपमा आबद्ध चन्दले समाचार वाचनसँगै सञ्चालन गर्ने ‘म्युजिक आवर’ कार्यक्रममार्फत पनि श्रोतामाझ लोकप्रियता कमाएका थिए। करिब ३३ वर्ष रेडियो नेपालमा सेवा दिएका उनी सन् २००४ मा सेवा निवृत्त भएका थिए। यसअघि उनले जर्मनीको गोथे इन्स्टिच्युटमा पनि लामो समय काम गरेका थिए।
माइकल चन्दको विवाह सन् १९७६ मा अभिनेत्री भुवन चन्दसँग भएको थियो। चन्दका तीन छोरी छन्, जो हाल अमेरिकामा रहेका छन्। छोरीहरू नेपाल आएपछि शनिवार उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
६ दशकदेखि नेपाली अभिनय क्षेत्रमा सक्रिय भुवन चन्दले १५ वर्षको उमेरमै नेपालको पहिलो चलचित्रकी ‘आमा’मार्फत अभिनय यात्रा सुरु गरेकी थिइन्।





