
काठमाडौं – नेपाली चलचित्र ‘आ बाट आमा’को लोकप्रिय बनिसकेको गीत ‘लैजा खबर ए हावा’ अब नेवारी संस्करणमा पनि सार्वजनिक गरिएको छ। आगामी माघ १६ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको निर्माण पक्षले बिहीबार ओएसआर डिजिटलमार्फत यस गीतको नेवारी भर्सन सार्वजनिक गरेको हो।
यसअघि चर्चित गायक रवि ओडको स्वरमा रहेको मूल गीतले नेपाली साङ्गीतिक बजारमा निकै चर्चा बटुलिसकेको छ। नेवारी भाषाको यस नयाँ संस्करणमा भने गायक तथा कलाकार यमन श्रेष्ठले आफ्नो सुमधुर आवाज दिएका छन्।
विशेष कुरा त के छ भने, बाबुल गिरीको शब्द र सङ्गीतमा तयार भएको यस गीतलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेवारी भाषामा अनुवाद गरेका हुन्। आफ्नो मातृभाषामा लोकप्रिय गीत गाउन पाउँदा गायक यमन श्रेष्ठले खुसी व्यक्त गरेका छन्। चलचित्रका निर्देशक चन्द्र पन्तले नेपाली र नेवारी मात्र नभई यो गीतलाई अन्य विभिन्न भाषामा समेत रेकर्ड गराउने योजना रहेको खुलाएका छन्। भाषिक विविधतालाई समेट्दै दर्शकको भावनासँग जोडिने निर्देशक पन्तको विश्वास छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा लामो समयपछि पर्दामा फर्किएकी अभिनेत्री बिपना थापा र युवा स्टार पल शाहको मुख्य भूमिका रहेको छ। उनीहरूसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिस्ट र बेगम नेपाली जस्ता कलाकारहरू अभिनय छ।
निर्देशक चन्द्र पन्त स्वयंको कथा र पटकथामा आधारित यस चलचित्रमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत भरेका छन्। गम्भीर बिस्ट र दिलीप ओखेडाको कोरियोग्राफी रहेको यस चलचित्रलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन्। अभिमन्यु निरवीको संवाद रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।
कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुङ्गानाको संयुक्त लगानी रहेको यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
गीत:





