अभिनेत्री स्वस्तिमाको अपिल – ‘मतदान पार्टीलाई होइन, आत्मसम्मान र भविष्यका लागि गरौँ’



काठमाडौं – आसन्न निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले आम मतदातालाई विवेकपूर्ण निर्णय गर्न गम्भीर अपिल गरेकी छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो सन्देश जारी गर्दै उनले एक भोटलाई केवल ‘मत’को रूपमा मात्र नहेरी आगामी पाँच वर्षको भविष्यको रूपमा बुझ्न आग्रह गरेकी हुन् ।

अभिनेत्री खड्काले व्यक्तिगत स्वार्थ, नातावाद र भनसुनको राजनीतिभन्दा माथि उठेर देशलाई सही दिशामा लैजान सक्ने नेतृत्व चुन्नुपर्नेमा जोड दिएकी छन् । “मेरो लाइसेन्स समातियो भने सजिलो होस्, गल्ती गर्दा फोन घुमाउन पाइयोस् वा मेरो मान्छे पावरमा होस् भनेर होइन, देश ठिक दिशामा जाओस् भनेर मतदान गरौँ,” उनले लेखेकी छन् ।

आफ्नो सन्देशमा उनले देशमा विद्यमान दण्डहीनता, भ्रष्टाचार र बेथितिका गम्भीर उदाहरणहरू पनि प्रस्तुत गरेकी छन् । निर्मला पन्तको न्याय नपाएको घटना, सडक दुर्दशाका कारण हुने बस दुर्घटना, किलो-किलो सुन तस्करी र कोभिड महामारीको समयमा औषधिमै भएको भ्रष्टाचारलाई स्मरण गराउँदै उनले यस्ता घटनामा जो कोही पनि पर्न सक्ने यथार्थ औँल्याएकी छन् । उनले प्रश्न गरेकी छन्, “निर्मला पन्त म पनि हुन सक्थेँ, तपाईँ पनि हुन सक्नुहुन्थ्यो । बस दुर्घटनामा ज्यान गुमाउनेहरूमा हामी पनि पर्न सक्थ्यौँ । तर के यो देश यत्तिकै चलिरहे पनि ठिकै छ त ?”

सरकारी कार्यालयमा सेवाग्राहीले भोग्नुपर्ने सास्तीप्रति व्यङ्ग्य गर्दै उनले कर तिरेर मात्र नपुग्ने र कर्मचारीलाई ‘खुसी’ बनाउनुपर्ने बाध्यताको अन्त्य सही मतदानबाट मात्र सम्भव हुने बताएकी छन् । साँच्चिकै राम्रो व्यक्तिले जितेमा सरकारी काममा सास्ती नहुने, भनसुन गर्न नपर्ने र युवाहरू परदेशी हुन नपर्ने उनको भनाइ छ ।

सन्देशको अन्त्यमा उनले मौन अवधिलाई लिएर निकै अर्थपूर्ण भनाइ राखेकी छन्, “भोलि तपाईँले हाल्ने मत कुनै पार्टीको लागि होइन, आफ्नो आत्मसम्मान र डराउनु नपर्ने भविष्यका लागि हो । तपाईँको मतले नै निर्धारण गर्छ, यो ‘मौन अवधि’ दुई दिनमै सकिन्छ कि आगामी पाँच वर्षसम्म लागू हुन्छ ।”

स्वस्तिमाको यो सन्देशले विशेष गरी नयाँ र युवा मतदाताहरूलाई प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu