दाजुभाइको प्रेम र पारिवारिक मनमुटाबको कथामा ‘हामी तीन भाइ’को टिजर सार्वजनिक



काठमाडौं –  नेपाली समाजको यथार्थपरक पारिवारिक कथामा आधारित चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक भएको छ । फागु पूर्णिमाको अवसर पारेर निर्माण पक्षले चलचित्रको पहिलो झलक दर्शकमाझ ल्याएको हो । आगामी चैत १३ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रको टिजरले दाजुभाइबीचको आत्मीयता र समय क्रमसँगै उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।

सार्वजनिक टिजरले ग्रामीण परिवेशमा हुर्किएका तीन टुहुरा दाजुभाइको कथालाई उठान गरेको छ । सानैमा मातापिता गुमाएका उनीहरूबीचको प्रगाढ प्रेमलाई टिजरमा कलात्मक रूपले देखाइएको छ, जहाँ उनीहरू आफैँ गोरुझैँ नारिएर खेत जोतिरहेका भेटिन्छन् । अभिभावकको अभावमा दाजुको मायामै हुर्किएका भाइहरूको यो अटुट पारिवारिक बन्धनमा तब दरार आउँछ, जब उनीहरूको जीवनमा विवाहपछि नयाँ मोड आउँछ । निर्देशक मधुसूदन भट्टराईले नेपाली समाजको एउटा आम पारिवारिक भोगाइ, सङ्घर्ष र दाजुभाइबीचको खटपटलाई पर्दामा उतार्ने प्रयास गरेका छन् ।

कमेडी र संवेगात्मक कथाको सम्मिश्रण रहेको अनुमान गर्न सकिने यस चलचित्रको टिजरमा कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ । चलचित्रमा विनोद न्यौपाने, कुशल बिस्ट र फलित राईले मुख्य तीन भाइको भूमिका निर्वाह गरेका छन् । यसका साथै लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा, आश्मा गिरी, जाह्नवी बस्नेत, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईँ, यादव देवकोटा (सरापे) लगायतका दर्जनौँ कलाकारहरूको उपस्थिति रहेको छ ।

प्रसिद्धि सिने आर्ट्स् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको प्रस्तुत कर्ता साजित महत हुन् भने त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे सह-निर्माताका रूपमा रहेका छन् । शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको यस चलचित्रलाई शिव ढकालले पर्दामा कैद गरेका हुन् भने बनिश शाहले सम्पादन गरेका छन् । चलचित्रमा साप शक्ति र बाबुल गिरीको सङ्गीत, सम्राट थापाको पार्श्व सङ्गीत, देव महर्जनको द्वन्द्व निर्देशन तथा कमल राई र इन्द्र देव महर्जनको कोरियोग्राफी रहेको छ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu