
काठमाडौं – आसन्न निर्वाचनका कारण नेपाली चलचित्र क्षेत्रका गतिविधिहरू शून्यप्रायः भइरहेका बेला नयाँ चलचित्र ‘लालिमा’को ट्रेलरले भने दर्शकको राम्रो ध्यान तानेको छ। शनिवार युट्युबमार्फत सार्वजनिक गरिएको उक्त ट्रेलर २४ घण्टा पनि पूरा नहुँदै चलचित्रतर्फको ट्रेन्डिङ सूचीको पाँचौँ स्थानमा उक्लन सफल भएको हो।
समाजमा यौनकर्मीहरूले भोग्नुपरेको दबिएको यथार्थलाई पर्दामा उतार्ने जमर्को गर्दै लेखक तथा निर्देशक रोशन मिराजले यो चलचित्र निर्माण गरेका हुन्। सार्वजनिक ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य पात्रहरूलाई चिनाउने प्रयास गरिएको छ। चलचित्रमा नायिका रोशनी कार्कीले शीर्ष (लालिमा) भूमिका निर्वाह गरेकी छन् भने उनीसँगै नायक जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देललगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
ट्रेलरको केन्द्रबिन्दुमा नायिका रोशनीलाई राखिएको छ, जसलाई एक यौनकर्मीको अवतारमा प्रस्ट रूपमा प्रस्तुत गरिएको छ। यौनकर्मको दलदलमा फसेकी ‘लालिमा’को जीवनमा आउने अनेकन् उतारचढाव र नायक जीवनसँगको प्रेम सम्बन्धलाई ट्रेलरले सङ्केत गरेको छ। भिडियोको अन्त्यतिर मुख्य पात्र मानसिक रूपमा विक्षिप्त बनेको दृश्यले दर्शकमा उत्सुकता जगाउँछ। नायिका कार्कीका अनुसार चलचित्रको मूल मर्म नै यौनकर्मीहरूले झेल्नुपर्ने मानसिक समस्या हो। विभिन्न बाध्यता, पृष्ठभूमि र कठिन परिस्थितिले उनीहरूको मनोदशा कसरी बिग्रन्छ भन्ने कुरालाई चलचित्रले सूक्ष्म रूपमा केलाएको उनले बताएकी छन्।
यसै गरी, अर्की नायिका उषा रजकले चलचित्रमा लालिमाकी आमाको भूमिका निर्वाह गरेकी छन्। बोल्न नसक्ने महिलाको रूपमा उनको प्रवेशले दर्शकलाई रोचक लाग्न सक्ने निर्माण पक्षको विश्वास छ। साथै, ट्रेलरमा देखाइएको यौनकर्मी लालिमाले बच्चा जन्माएको प्रसङ्गले चलचित्रको कथावस्तुमा गहिरो सस्पेन्स सिर्जना गरेको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर आगामी फागुन २९ गतेदेखि यो चलचित्र सर्वत्र प्रदर्शनमा आउने तयारीमा छ। फेथ आस्थाको ब्यानरमा निर्माण भएको यस चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन्।
ट्रेलर:



