
काठमाडौं – रङहरूको पर्व फागु पूर्णिमा (होली) र नजिकिँदै गरेको निर्वाचनको सन्दर्भलाई जोड्दै लोकप्रिय अभिनेत्री केकी अधिकारीले आम मतदातालाई विवेकपूर्ण मतदान गर्न अपिल गरेकी छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले असत्यमाथि सत्यको जित हुने होलीको मान्यतालाई दन्त्यकथा वा मिथकमा मात्र सीमित नराखी निर्वाचनमार्फत यथार्थमा बदल्नुपर्नेमा जोड दिएकी छन् ।
अबको तीन दिनमा हुन गइरहेको निर्वाचनलाई ‘देशको मुहार फेर्ने नयाँ आशा’को रूपमा चित्रण गर्दै अभिनेत्री अधिकारीले अमूल्य मत खसाल्नुअघि गम्भीर भएर सोच्न मतदातालाई आग्रह गरेकी छन् । मतदान केन्द्रमा जानुअघि देशका लागि ज्यान आहुति दिने तमाम सहिदहरू, घरमा रहेका हजुरबुबा-हजुरआमा र आमाबुबाको अनुहारमा छाएको निराशालाई एक पटक स्मरण गर्न उनको सुझाव छ । यसका साथै, आफ्ना पूरा हुन नसकेका सपना, युवा वर्गले भोग्नुपरेको बिदेसिनुपर्ने बाध्यता, साना बालबालिकाको भविष्य र समग्र नेपाल आमालाई सम्झिएर मात्र भोट हाल्न उनले अनुरोध गरेकी छन् ।
होलीको शुभकामना दिने क्रममा उनले न्याय र सुशासनको पक्षमा वकालत गरेकी छन् । असत्य र अन्यायमाथि सत्य र न्यायको जित होस् भन्ने कामना गर्दै उनले देशमा सुशासन र स्थिरता कायम हुने विश्वास व्यक्त गरेकी छन् । यस पटकको होलीलाई ‘नेपालीका लागि खास’ भन्दै उनले सम्पूर्ण नेपालीलाई ‘रङ्गिन विवेक’को अर्थपूर्ण शुभकामना दिएकी छन्।



