‘मिरमिरे’ अभिभावकको त्याग र सन्तानको सपना हो: दयाहाङ राई



काठमाडौं – अभिनेता दयाहाङ राईले आफ्नो आगामी चलचित्र ‘मिरमिरे’ ले बाबु-छोरीको सम्बन्ध मात्र नभई सन्तानको उज्ज्वल भविष्यका लागि एक अभिभावकले गर्ने सङ्घर्ष र समर्पणको गहिरो कथा समेटेको बताएका छन्। चलचित्रको प्रवर्द्धनका क्रममा बोल्दै राईले यस चलचित्रमा एक पिताले आफ्ना पीडा र वास्तविकता लुकाएर छोरीको खुसीका लागि गर्ने अभिनय र संवेदनालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको जानकारी दिए।

अभिनेता राईका अनुसार ‘मिरमिरे’ सतही रूपमा पारिवारिक कथा जस्तो देखिए पनि यसले मानवीय भावनाका गहिरा पाटाहरूलाई स्पर्श गरेको छ। आफूले यस चलचित्रमा एउटा बाबुले छोरीको अगाडि देखाउने कृत्रिम मुस्कान र त्यसभित्र लुकेको कारुणिक यथार्थलाई जीवन्त बनाउन विशेष मिहिनेत गरेको उनले उल्लेख गरे। विषयवस्तुको गाम्भीर्यता र कथाको मौलिकताकै कारण आफू यस चलचित्रप्रति आकर्षित भएको बताउँदै उनले यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र नभई हेरिसकेपछि दर्शकलाई गम्भीर भएर सोच्न बाध्य पार्ने एउटा विशेष सिर्जना भएको दाबी गरे।

यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र आगामी माघ १ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राईका साथै चर्चित गायक तथा अभिनेता प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ र भोलाराज सापकोटा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। साथै विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि चलचित्रमा अभिनय देख्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu