धरानमा चलचित्र ‘कुमारी’को विशाल होर्डिङ, नेपालकै सबैभन्दा ठुलो पोस्टर दाबी



धरान – माघ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी चलचित्रको होर्डिङ बोर्ड राखिएको हो।

३२०० स्क्वायर फिट (४० बाई ८० फिट) क्षेत्रफलको उक्त होर्डिङ बोर्डको पोस्टर छपाइमै करिब ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ। नेपालमै छापिएका र जडान गरिएका पोस्टरहरूमध्ये ‘कुमारी’को पोस्टर नै सबैभन्दा ठुलो भएको दाबी निर्माण पक्षले गरेको छ। धरानको व्यस्त क्षेत्रमै राखिएको विशाल पोस्टरले चलचित्रप्रति दर्शकको ध्यान तानिरहेको छ।

हाल चलचित्रको गीत ‘डोको बुन्ने निगाली चोयाले’ व्यापक चर्चामा छ। यस गीतका गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ लाई केन्द्रमा राख्दै चलचित्रले पाँच सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरिरहेको छ। कन्सर्ट अन्तर्गत नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ कन्सर्ट आयोजना गरिनेछ। कन्सर्टमा ब्यान्डसँगै चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतको समेत सहभागिता रहनेछ।

लभस्टोरी चलचित्र निर्देशनमा माहिर राउतको यस चलचित्रलाई प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ। चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu