
काठमाडौं – चलचित्र ‘परिवर्तन’को औपचारिक ट्रेलर सार्वजनिक गरिएको छ। आगामी माघ ९ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रले सोमबार एक भिडियो सार्वजनिक गर्दै आफ्नो कथावस्तु र प्रस्तुतिको झलक दिएको हो। सार्वजनिक ट्रेलरमा चलचित्रको मुख्य सारका रूपमा एक्सन र सस्पेन्सलाई जोड दिइएको छ।
यस पटक अभिनेता सुशील श्रेष्ठ निकै आक्रामक र सशक्त एक्सन अवतारमा पर्दामा देखिएका छन्। उनीसँगै अभिनेत्री अञ्जना बराइलीको केमेस्ट्रीलाई पनि ट्रेलरमा विशेष स्थान दिइएको छ, जहाँ अञ्जना एक कर्तव्यनिष्ठ प्रहरी इन्स्पेक्टरको भूमिकामा प्रस्तुत भएकी छन्। सत्ता र शक्तिको लुछाचुँडीमा नेताहरूले गर्ने दाउपेच तथा त्यसले समाजमा पार्ने प्रभावलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको बुझ्न सकिन्छ। विशेष गरी राजनीतिक स्वार्थका लागि हुने चलखेल र त्यस विरुद्धको लडाइँलाई निर्देशक विजय केरुङले पर्दामा उतारेका छन्।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक केरुङले चलचित्रले दर्शकको मनोरञ्जनको तिर्खा मेट्नुका साथै एउटा गहिरो सामाजिक सन्देश पनि प्रवाह गर्ने दाबी गरे। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील र अञ्जनाका अलावा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको अभिनय देख्न सकिनेछ। दीपक सिवाकोटीको कथा र लगानीमा तयार भएको यस चलचित्रको पटकथा तथा संवाद लेखक शिवम् अधिकारी हुन्।
ट्रेलर:





