नवलपुरको देवचुलीमा आईएनआई सिनेमाको अत्याधुनिक नयाँ हल, माघ १ देखि सञ्चालनमा आउने



देवचुली – नेपालको प्रतिष्ठित सिनेमा चेन आईएनआई सिनेमाजले मोफसलमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नवलपुरको देवचुलीमा छैटौँ शाखा विस्तार गरेको छ। नवलपुर जिल्लाको देवचुली नगरपालिकास्थित प्रगतिनगरमा निर्मित ‘देवचुली मल्टिप्लेक्स’ आगामी माघ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो। काठमाडौं, सिमरा र बुटवलमा आफ्नो सेवा विस्तार गरिसकेको यस चेनले अब नवलपुरका दर्शकलाई पनि विश्व स्तरीय सिनेमा अनुभव दिलाउने तयारी पुरा गरेको छ।

नवलपुर–देवचुली राजमार्गबाट मात्र १५ मिटरको दुरीमा रहेको यो मल्टिप्लेक्स कावासोती र नारायणघाट दुवै क्षेत्रका बासिन्दाका लागि पायक पर्ने स्थानमा अवस्थित छ। दर्शकको सुविधा र गुणस्तरलाई मुख्य प्राथमिकतामा राख्दै निर्माण गरिएको यस हलमा २९२ सिट क्षमताको प्रिमियम सिटिङ व्यवस्था छ। चलचित्रको दृश्यलाई जीवन्त बनाउन अत्याधुनिक लेजर प्रोजेक्टर प्रविधि र उत्कृष्ट ध्वनिको लागि डिटीएस-एक्स साउन्ड सिस्टम जडान गरिएको छ। यस हलमा थ्रिडी सिनेमाको मज्जा समेत लिन पाइनेछ।

भौतिक पूर्वाधारको हकमा समेत यस मल्टिप्लेक्सले अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याएको छ। आकर्षक एवं आरामदायी प्रिमियम लबी, सहज पार्किङ सुविधा र स्वास्थ्यवर्धक खाजाका परिकारहरू उपलब्ध गराइने हुनाले यहाँ पुग्ने दर्शकले मनोरञ्जनका साथै उत्कृष्ट आतिथ्यको अनुभव समेत पाउनेछन्।

स्थानीय स्तरमा गुणस्तरीय सिनेमा हलको अभावलाई चिर्दै आईएनआई सिनेमाले यस क्षेत्रकै चलचित्र प्रेमीहरूका लागि नयाँ गन्तव्य बन्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu