तीन नयाँ नेपाली चलचित्रहरू ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ रिलिज



काठमाडौं – माघे सङ्क्रान्तिको अवसरमा तीन नयाँ नेपाली चलचित्रहरू ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ रिलिज एकैसाथ प्रदर्शनमा आएका छन्। गत मङ्सिरदेखि नेपाली चलचित्र बजारमा देखिएको व्यापारिक सुस्ततालाई चिर्ने अपेक्षासहित यी चलचित्रहरू हलसम्म आइपुगेका हुन्। मङ्सिर र पुस महिनामा करिब एक दर्जन चलचित्र प्रदर्शन भए तापनि कुनैले पनि लगानी उठाउन नसकेपछि सिर्जना भएको व्यापारिक निराशालाई यो त्रिकोणात्मक भिडन्तले कत्तिको उत्साहमा बदल्छ भन्ने चासो चलचित्र वृत्तमा बढेको छ।

बिहीबारबाट देशभरका सिनेमा हलहरूमा उत्रिएका यी तीन वटै चलचित्रहरू सामाजिक विषयवस्तुमा आधारित छन्। प्रदर्शकहरूले यी चलचित्रलाई सन्तुलित रूपमा सोहरू वितरण गरेका छन्, जसमा ‘मिरमिरे’ले १३०, ‘गोबर गणेश’ले ११२ र ‘भाइरल गोर्खे’ले १०७ सोहरू प्राप्त गरेका छन्।

यम शेर्पाको निर्देशनमा तयार भएको ‘मिरमिरे’मा नेपाली चलचित्रका चल्तीका अभिनेता दयाहाङ राई र चर्चित गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो पर्दा सहकार्य रहेको छ। बाबु र छोरीको हृदयस्पर्शी सम्बन्धसँगै त्रिकोणात्मक प्रेम कथालाई समेत समेटेको यस चलचित्रमा सिर्जना निङलेखु, माओत्से गुरुङ र छुल्ठिम गुरुङको समेत मुख्य भूमिका रहेको छ। लामो समयदेखिको व्यापारिक खडेरी तोड्न यो फिल्मले पारिवारिक दर्शकलाई तान्ने अपेक्षा गरिएको छ।

त्यस्तै, निगम श्रेष्ठको निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ले वर्तमान समयको जल्दो बल्दो विषय ‘डिजिटल क्रेज’लाई उठाएको छ। सामाजिक सञ्जालमा भाइरल बन्ने होडबाजी र त्यसले मानिसको निजी जीवनमा ल्याउने उतारचढावलाई मुख्य विषय बनाइएको यस चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ। मङ्गलवार आयोजित प्रिमियरमा सौगातको अभिनय र फिल्मको हास्य पक्षलाई लिएर सकारात्मक प्रतिक्रिया आएकाले यसले व्यापारमा गति लिने अनुमान छ।

अर्कोतर्फ, हास्य विधामा स्थापित कलाकार मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशन र मुख्य अभिनय रहेको ‘गोबर गणेश’ पनि आजैदेखि प्रदर्शनमा आएको छ। मरीचमानका साथै वर्षा सिवाकोटी, निर्मल शर्मा, बुद्धि तामाङ र पदम तामाङ जस्ता परिचित कलाकारहरूको अभिनय रहेको यस चलचित्रले हास्य रसका माध्यमबाट सामाजिक सन्देश दिने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu