
काठमाडौं – नेपाली सिने जगतलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने पुलको रूपमा स्थापित ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म आयोजना हुने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘विश्वभरका कथाहरूको उत्सव’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यस वर्षको महोत्सवको कार्य तालिका सार्वजनिक गरेको हो। पाँच दिनसम्म चल्ने यस सिने उत्सवमा विश्वका ४० मुलुकबाट छनोट भएका ८८ वटा उत्कृष्ट चलचित्रहरू प्रदर्शन गरिनेछन्।
यस पटकको महोत्सव विशेष गरी युवा पुस्ता र आधुनिक प्रविधिलाई लक्षित गरी डिजाइन गरिएको आयोजकले जनाएको छ। महोत्सवमा सहभागी हुन विश्वका ८० भन्दा बढी देशबाट करिब ८०० चलचित्रले आवेदन दिएका थिए, जुन निफको इतिहासमा हालसम्मकै उच्च सहभागिता हो। अन्तर्राष्ट्रिय स्तरमा निफप्रतिको बढ्दो साखका कारण पनि यस वर्ष ठुलो सङ्ख्यामा आवेदन प्राप्त भएको आयोजकको बुझाइ छ। महोत्सवका लागि कान्स, बर्लिन्, भेनिस र बुसान जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा पुरस्कृत भइसकेका फिचर फिल्म, वृत्तचित्र र लघु चलचित्रहरू समेत छनोटमा परेका छन्।
महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार यस वर्ष युवा मेकरहरूलाई प्रोत्साहन गर्न ‘एआई (कृत्रिम बौद्धिकता) फिल्म मेकिङ’ कार्यशालालाई विशेष प्राथमिकतामा राखिएको छ। युवापुस्ताको अभिरुचिलाई ध्यानमा राख्दै छनोट गरिएका चलचित्रहरूले दर्शकमा नयाँ ऊर्जा र आशा जगाउने विश्वास लिइएको छ। यसअघि फागुन महिनाका लागि तय गरिएको महोत्सव देशमा हुन लागेको आम निर्वाचनका कारण उत्पन्न हुन सक्ने सुरक्षा र यातायातको संवेदनशीलतालाई मध्यनजर गर्दै एक महिना पछि सारिएको पाठकले जानकारी दिए।
पुरस्कारको दृष्टिकोणले पनि यस वर्षको महोत्सव निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ। महोत्सवको सबैभन्दा ठुलो पुरस्कार ‘गौतम बुद्ध अवार्ड’ (अन्तर्राष्ट्रिय फिचर फिल्म) विजेताले १५ सय अमेरिकी डलर र ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, राष्ट्रिय विधाको उत्कृष्ट चलचित्रले १ लाख रुपैयाँ नगद पाउनेछ भने ‘माउन्ट एभरेस्ट अवार्ड’ (वृत्तचित्र) विजेतालाई १ हजार डलर प्रदान गरिनेछ। यसै वर्षदेखि एआई विधामा पनि ‘मञ्जुश्री अवार्ड’ घोषणा गरिएको छ, जसको पुरस्कार राशि ५ सय डलर रहेको छ। दक्षिण एसियाली फिचर फिल्म, विद्यार्थी चलचित्र र राष्ट्रिय विधाका अन्य प्राविधिक पक्षहरूमा पनि आकर्षक पुरस्कार र सम्मानको व्यवस्था गरिएको छ।



