‘आ बाट आमा’को ट्रेलरमा के छ ?



काठमाडौं – नेपाली चलचित्र ‘आ बाट आमा’को औपचारिक ट्रेलर बुधवार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। आगामी माघ १६ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रले ट्रेलर भावुक छ। विशेष गरी स्वदेशमा सम्भावना नदेखेर सुन्दर भविष्यको खोजीमा राहदानी बनाउन बाध्य नेपाली युवाको यथार्थ र सन्तानप्रति आमाबाबुको अगाध प्रेमलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ।

ट्रेलरमा ग्रामीण परिवेशको जीवन्त चित्रण गरिएको छ, जहाँ अभिनेता पल शाह एक महत्त्वाकाङ्क्षी छोराको भूमिकामा देखिएका छन्। लामो समयपछि पर्दामा फर्किएकी अभिनेत्री बिपना थापाले आमाको भूमिका निभाएकी छिन् भने भारतीय चलचित्र क्षेत्रका स्थापित कलाकार प्रदीप रावतले पिताको भूमिकामा सशक्त उपस्थिति जनाएका छन्। साथीभाइको लहलहैमा लागेर र अस्ट्रेलिया जाने सपना बुनेर आफ्नो थातथलो छोड्न तयार हुने एक युवक र त्यसले परिवारमा ल्याउने भावनात्मक उतारचढावलाई निर्देशक चन्द्र पन्तले कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्।

‘बा-आमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौँ’ भन्ने मर्मस्पर्शी नारा बोकेको यो चलचित्रले वर्तमान नेपाली समाजको तितो सत्यलाई उजागर गरेको छ। निर्देशक पन्त स्वयंकै लेखन र पटकथा रहेको यस चलचित्रमा बिपना, पल र प्रदीपका साथमा विशाल पहाडी, रवीन्द्र झा, साइग्रेस पोखरेल, सिम्रन पन्त, गजित विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गानाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी कृष्णप्रसाद सुवेदी र ओमकार पन्तले सम्हालेका छन्। नवराज उप्रेतीको छायाङ्कन र कोसिस क्षेत्री, बाबुल गिरी तथा थानेश्वर गौतमको सङ्गीत रहेको छ। 

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu