देशभरका हलमा ‘परिवर्तन’को बुकिङ खुला



काठमाडौं – नेपाली रजतपटमा व्यग्र प्रतीक्षा गरिएको एक्सन–सस्पेन्स चलचित्र ‘परिवर्तन’को प्रदर्शन मिति नजिकिँदै गर्दा देशभरका चलचित्र भवनहरूमा यसको अग्रिम टिकट बुकिङ उत्साहजनक रूपमा सुरु भएको छ। आगामी माघ ९ गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्मका लागि देशभरका प्रमुख मल्टिप्लेक्स चेन तथा एकल हलहरूले बुकिङ खुला गरेका हुन्।

प्रविधिको उच्चतम प्रयोग र दमदार एक्सन दृश्यहरूका कारण चर्चामा रहेको यस फिल्मले देशभरका हलहरूबाट सुखद ‘शो’ प्राप्त गरेको छ। नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यका र बाहिरका आफ्ना विभिन्न स्टेसनहरूमा गरी कुल ३२ शो उपलब्ध गराएको छ। यस्तै, दोस्रो ठुलो चेन आईएनआईले १५ शो दिँदा वान सिनेमाजले ९ र एफक्यूबले ४ शोमा फिल्म प्रदर्शन गर्ने तयारी गरेका छन्। बिग मुभिजले ३ शोबाट बुकिङ सुरु गरेको यस फिल्मले रिपोर्ट तयार पार्दासम्म देशभरका विभिन्न हलहरूमा गरी कुल १०० भन्दा बढी शो प्राप्त गरिसकेको छ। केही हलहरूले अझै पनि शो सङ्ख्या थप गर्ने र बुकिङ खुलाउने प्रक्रिया जारी राखेका छन्।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील श्रेष्ठ र अञ्जना बराइलीको मुख्य जोडी रहेको छ। उनीहरूसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे जस्ता अनुभवी कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ। दीपक सिवाकोटीको निर्माण तथा मौलिक कथा रहेको यस फिल्मको पटकथा र संवाद लेखन शिवम् अधिकारीले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu