युट्युबमा आयो चलचित्र ‘ऊनको स्वीटर’



काठमाडौं – सफल र चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो। नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शन भएपछि निर्माण पक्षले सबै दर्शकको पहुँचमा पुर्‍याउने उद्देश्यसहित यसलाई डिजिटल रूपमा रिलिज गर्ने निर्णय लिएको निर्देशक नवीन चौहानले बताए।

यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो। नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गर्‍यो। भारतका विभिन्न सहरका ४० वटा हलमा रिलिज भएको ‘ऊनको स्वीटर’ ले त्यहाँ पनि ५१ दिनको ऐतिहासिक यात्रा तय गरेको थियो। 

भारतमा सिक्किमको गान्तोकसहित पूर्वोत्तरका विभिन्न सहरहरू दार्जिलिङ, कालिम्पोङ र आसाम हुँदै मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरलासम्म पुगेको थियो। फरक भाषा र परिवेश भए तापनि चलचित्रले व्यक्त गर्ने भावनात्मक गहिराइले भारतीय दर्शकको मन जित्न सफल भयो।

समय र स्थानका कारण हलसम्म पुग्न नसकेका देश-विदेशका धेरै दर्शकहरूले चलचित्र रि-रिलिजको निरन्तर माग गरिरहेका थिए। दर्शकहरूप्रति रहेको त्यही जिम्मेवारीलाई सम्मान गर्दै आर्टमाण्डुले यसलाई युट्युबमा ल्याएको बताएको छ। विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेलको मुख्य अभिनय रहेको यो चलचित्रलाई आर्टमाण्डुले केवल एउटा फिल्म मात्र नभएर माटो, सम्झना र सम्बन्धको न्यानो कथाका रूपमा चित्रण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu