
काठमाडौं – विद्याकी देवी सरस्वतीको आराधना गरिने पावन पर्व वसन्त पञ्चमीको शुभ अवसर पारेर नेपाली कथानक चलचित्र ‘परिवर्तन’ आज शुक्रवारबाट देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। देशव्यापी रूपमा करिब १५० शो प्राप्त गर्दै उत्साहजनक सुरुवात गरेको यस चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। प्रदर्शन पूर्व सार्वजनिक गरिएका टिजर र ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलेका कारण चलचित्रको व्यावसायिक भविष्य सुखद हुनेमा निर्माण पक्ष आशावादी देखिएको छ।
एक्सन र प्रेमकथाको सम्मिश्रण रहेको ‘परिवर्तन’ विशेष गरी अभिनेता सुशील श्रेष्ठका लागि निकै महत्त्वपूर्ण साबित हुने देखिएको छ। विगत आठ वर्षदेखि व्यावसायिक सफलताको स्वाद चाख्न नपाएका सुशीलका लागि यो चलचित्र उनको फिल्मी करिअर र स्टारडम जोगाउने ‘अग्निपरीक्षा’का रूपमा हेरिएको छ। लामो समयको हिट खडेरी तोड्नुपर्ने दबाबका बीच उनी यस पटक पर्दामा सशक्त एक्सन अवतारमा प्रस्तुत भएका छन्। उनको यो नयाँ भूमिकाले दर्शकलाई कत्तिको आकर्षित गर्छ भन्ने कुराले नै उनको आगामी फिल्मी यात्राको दिशा तय गर्नेछ।
विजय केरुङको निर्देशनमा तयार भएको यस चलचित्रमा कलाकर्मीहरूको लामो लस्कर नै छ। सुशील श्रेष्ठका साथमा सदाबहार नायिका करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे र पुकार भट्टराई लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। दीपक सिवाकोटीले निर्माण गरेको यस चलचित्रमा स्वयं उनकै कथा रहेको छ भने अनुभवी लेखक शिवम् अधिकारीले पटकथा तथा संवादलाई अन्तिम रूप दिएका हुन्।



