
काठमाडौं – नेपाली चलचित्र जगतमा सात वर्षको लामो अन्तरालपछि निर्देशक सुदीप भुपाल सिंहले आफ्नो सशक्त पुनरागमनको सङ्केत दिएका छन्। आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत शुक्रवार वसन्त पञ्चमीको पावन अवसरमा रिलिज गरिएको हो। फिल्म रेञ्जको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘घर मेरो सानो बुकुरो’ बोलको गीतले चलचित्रको मूल भाव र पारिवारिक संवेदनालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।
विशेष गरी घर र परिवारको महत्त्व झल्काउने यस मर्मस्पर्शी गीतमा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको कर्णप्रिय सङ्गीत र चर्चित गायक शिव परियारको स्वर सुन्न सकिन्छ। निर्देशक सिंह स्वयंकै शब्द रचना रहेको यस गीतको भिडियोमा मुख्य कलाकारहरू आशीर्वाद क्षेत्री र लक्ष्मी गिरीको सहरदेखि गाउँसम्मको यात्रा र त्यस क्रममा आउने भावनात्मक उतारचढावलाई कलात्मक रूपमा कैद गरिएको छ। विगतमा ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चलचित्र निर्देशन गरिसकेका सिंहले यस पटक विशुद्ध पारिवारिक कथावस्तुलाई पर्दामा उतार्न खोजेका छन्, जसले दर्शकलाई मौलिकताको स्वाद दिने अपेक्षा गरिएको छ।
पछिल्लो समय नेपाली सिने बजारमा पारिवारिक र सामाजिक कथावस्तुले उत्साहजनक प्रतिक्रिया पाइरहेको सन्दर्भमा निर्माण पक्ष यस चलचित्रलाई लिएर निकै आशावादी देखिएको छ। यसअघि नै पोस्टर र टिजरमार्फत चर्चा बटुलिसकेको ‘श्री बुकुरो’ले यस गीतसँगै दर्शकको कौतुहलतालाई थप बढाएको छ। चलचित्रमा आर्सीवाद क्षेत्री र लक्ष्मी गिरीका साथै निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, लय सङ्ग्रौला र मोहन निरौला लगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ। रुबी सेन सिंहले निर्माण गरेको यस चलचित्रमा निर्देशक सिंहकै लेखन रहेको छ।
गीत:






