
काठमाडौं – नेपाली चलचित्र ‘कल्ली’ले आफ्नो सम्पूर्ण छायाङ्कन कार्य पुरा गरेको छ। राजधानीको चोभारमा नायिका पूजा शर्माको विशेष नृत्य (आइटम डान्स) छायाङ्कन गरेसँगै चलचित्रको सुटिङ ६० औँ दिनमा विधिवत रूपमा सकिएको हो। जुम्लाको विकट र मनोरम स्थानहरूमा मुख्य छायाङ्कन गरिएको यस चलचित्रले अन्तिम दृश्यका लागि चोभारलाई रोजेको थियो।
चलचित्रको समापनको अवसरमा नायिका पूजा शर्माले ‘क्या राम्री’ बोलको गीतमा कम्मर मर्काएकी छिन्। विवाहपछिको आफ्नो पहिलो काम र करियरकै पहिलो आइटम डान्स भएकाले यो गीत आफ्ना लागि विशेष रहेको पूजाले बताइन्। आशिष अविरलको सङ्गीत र मेलिना राईको स्वर रहेको छ। चोभारमा दुई दिन लगाएर खिचिएको यस भिडियोमा पूजाको साथमा अभिनेता उत्तम प्रधान, किरण श्रेष्ठ र सुलक्षण भारतीको समेत प्रभावशाली नृत्य देख्न सकिनेछ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। महेश दवाडीको लेखन रहेको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत र उत्तम प्रधान लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ। चलचित्रले ‘देवता र राक्षस’ बीचको द्वन्द्वको कथालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
निशाल पौडेलको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको यस चलचित्रको टिजरले यसअघि नै दर्शकमाझ निकै कौतुहलता जगाइसकेको छ। निर्माता किरण नेपालीका अनुसार यो गीतलाई केही समयमै सार्वजनिक गरिनेछ भने चलचित्र आगामी फागुन १ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ।






