अब अर्पण थापा र थिन्ले ल्हामोको जोडी: चलचित्र ‘फ्रेन्च किस’को शुभ मुहूर्तसँगै छायाङ्कन सुरु



काठमाडौं – नेपाली चलचित्र जगतमा मौलिक र फरक धारका सिर्जना पस्कन रुचाउने अभिनेता तथा निर्देशक अर्पण थापाले आफ्नो नयाँ चलचित्र ‘फ्रेन्च किस’को औपचारिक घोषणा गरेका छन्। वसन्त पञ्चमीको पावन अवसर पारेर शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई स्वयं अर्पण थापाले निर्देशन गर्दैछन्।

यो चलचित्रलाई लिएर सिने जगतमा विशेष चासो रहनुको मुख्य कारण यसको रोचक कास्टिङ हो। चलचित्रमा निर्देशक थापा आफैँ मुख्य भूमिकामा देखिनेछन् भने उनलाई पर्दामा विश्व चर्चित चलचित्र ‘शाम्बाला’ मार्फत अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएकी अभिनेत्री थिन्ले ल्हामोले साथ दिनेछिन्। थिन्ले ती विरलै नेपाली कलाकार हुन्, जसले स्विट्जरल्याण्डको प्रतिष्ठित ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेर नेपालको नाम विश्व मञ्चमा उच्च राखेकी थिइन्।

चलचित्रका अन्य महत्त्वपूर्ण पात्रहरूमा भेट्रान अभिनेत्री गौरी मल्ल र उदाउँदो प्रतिभा आयशा तामाङ देखिनेछन्। सोमबारबाट चितवनका रमणीय स्थलहरूमा छायाङ्कन सुरु हुने यस परियोजनालाई अनुभवी सिनेमाटोग्राफर सुदीप बरालले क्यामेरामा कैद गर्नेछन्। चलचित्रको सांगीतिक पक्षलाई थप सबल बनाउन चर्चित गायक तथा सङ्गीतकार दीपक बज्राचार्यले सङ्गीत भर्ने जिम्मेवारी लिएका छन्।

पछिल्लो समय युवा पुस्ताको रोजाइ र प्रेमकथामा आधारित हुने सङ्केत गर्ने यस चलचित्रको शीर्षक ‘फ्रेन्च किस’ ले नै धेरैको ध्यान तानिसकेको छ। सौगात बस्नेत कार्यकारी निर्माता र सुभाष बी. शाही सह-निर्माता रहेको यस चलचित्रको पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu