
आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘काजी’ को औपचारिक ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले मंगलबार दर्शकमाझ ल्याएको ३ मिनेट ६ सेकेन्ड लामो यस ट्रेलरले चलचित्रको मूल कथावस्तु, पारिवारिक उतारचढाव र परिवेशलाई छर्लङ्ग पारेको छ।
सार्वजनिक ट्रेलरमा विवाहपछिको एउटा नवजोडीको सुन्दर प्रेम र उनीहरूको सम्बन्धमा आउने आरोहअवरोहलाई निकै आकर्षक र मार्मिक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेता विपिन कार्कीलाई ‘काजी’ र अभिनेत्री केकी अधिकारीलाई ‘कजिनी’ को अवतारमा देख्न सकिन्छ। उनीहरूबीचको प्राकृतिक रसायन, दमदार संवाद र चलचित्रको भव्य मेकिङले दर्शकको ध्यान पूर्ण रूपमा खिच्न सफल भएको छ। यसअघि सार्वजनिक भएका पोस्टर, प्रिभ्यु र ‘वारि बर, पारि पीपलु’ बोलको गीतले चर्चा बटुलिसकेको अवस्थामा यो ट्रेलरले दर्शकमाझ चलचित्रप्रतिको कौतूहलता र प्रतीक्षा झनै बढाएको छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको यस चलचित्रमा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी र विनोद न्यौपानेको बलियो अभिनय रहेको छ। त्यसैगरी, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बाल कलाकार दीक्षिता अर्यालले पनि विभिन्न महत्त्वपूर्ण भूमिकामा जीवन्त अभिनय गरेका छन्।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘काजी’ लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्वाजको उत्कृष्ट लेखन रहेको यस चलचित्रलाई चिन्तन राजभण्डारीले क्यामेरामा उतारेका छन्। प्राविधिक रूपमा पनि अब्बल मानिएको यस प्रोजेक्टमा कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत (ब्याकग्राउन्ड स्कोर), सागर अर्यालको साउन्ड डिजाइन र श्याम कुँवरको रङ संयोजन रहेको छ। ओजस्वी ओझाको प्रोडक्सन डिजाइन रहेको चलचित्रमा रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेडका रूपमा जोडिएका छन्।
कविराज गहतराजको नृत्य निर्देशन रहेको यस चलचित्रको सम्पादन विपिन मल्लले गरेका हुन् भने सम्पादन सुपरभाइजरको जिम्मेवारी बनिस शाहले सम्हालेका छन्। प्रकाश हमाल प्रोडक्सन हेड रहेको यस चलचित्रमा असिम काफ्ले कार्यकारी निर्माता तथा नेहान रिजाल र विकास राज जोशी निर्माताका रूपमा रहेका छन्। दर्शकको उच्च पर्खाइमा रहेको ‘काजी’ लाई श्रीराम बालाजी फिल्म्सले देशभरका सिनेमाघरहरूमा वितरण गर्ने जिम्मा लिएको छ।





