‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक



काठमाडौं – ‘ब्रेकअप’लाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको नयाँ चलचित्र ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा प्रेम, धोका र त्यसपछिको मानसिक द्वन्द्वलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ।

निर्देशकका रूपमा डेब्यु गरेकी सुदिप्ताले आफ्नो यो सिर्जनालाई परम्परागत प्रेमकथा भन्दा भिन्न ‘ब्रेकअप स्टोरी’का रूपमा चिनाएकी छिन्। नेपाली पर्दामा प्रायः पुरुष पात्रको दृष्टिकोणबाट प्रेम र बिछोडका कथाहरू सुनिने र देखिने गरेको सन्दर्भमा, यो चलचित्रले एउटी महिलाको नजरबाट सम्बन्ध टुट्दाको पीडा र त्यसपछिको मानसिक अवस्थालाई सूक्ष्म रूपमा चित्रण गरेको उनको दाबी छ।

चलचित्रकी केन्द्रीय पात्र ‘रमिता’को भूमिकामा देखिएकी अभिनेत्री आना शर्माले यस चलचित्रका लागि आफूले निकै मिहिनेत गरेको बताएकी छिन्। उनले आफ्नो पात्रलाई जीवन्त बनाउन छायाङ्कन अघि करिब ६ महिना निर्देशकसँग बसेर चरित्र निर्माणमा काम गरेको अनुभव सुनाइन्। अर्कोतर्फ, चकलेटी नायक धिरज मगरले पछिल्लो समय आफूलाई महिला प्रधान कथाहरूले आकर्षित गरिरहेको बताउँदै यो चलचित्रमा पनि दर्शकले आफूलाई पहिलेभन्दा निकै फरक र परिपक्व अवतारमा पाउने विश्वास व्यक्त गरे।

यो चलचित्र चर्चित गायक समीर श्रेष्ठका लागि पनि विशेष रहेको छ, किनकि यही चलचित्रमार्फत उनले अभिनयको क्षेत्रमा पाइला टेकेका छन्। यस चलचित्रमा आना, धिरज र समीरका साथै विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ। 

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu