
काठमाडौं – नेपाली रजतपटमा एउटा फरक धारको कथा बोकेर चलचित्र ‘द ब्लु लाइट’ यही माघ १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। नव-निर्देशक बलिराम चौहानको डेब्यु निर्देशन रहेको यस चलचित्रलाई धेरैले ‘हरर’ विधाको चलचित्र अनुमान गरे तापनि निर्देशक चौहानले भने यसलाई ‘मनोवैज्ञानिक ड्रामा–थ्रिलर’ को रूपमा अर्थ्याएका छन्। मानव मनका जटिलता, एक्लोपन र यथार्थ र भ्रमबिचको धुमिल रेखालाई मुख्य विषयवस्तु बनाएको यस चलचित्रले दर्शकलाई डरभन्दा पनि गहिरो मनोवैज्ञानिक अनुभूत गराउने दाबी गरिएको छ। प्रेम, धोका र बदलाको चिरपरिचित कथालाई नै निकै संवेदनशील र नयाँ शैलीमा पर्दामा उतारिएको निर्माण पक्षको भनाइ छ।
पछिल्लो समय फिल्म क्षेत्रमा आउने र हराउने निर्देशकहरूको भीडमा चौहान आफूलाई फरक ढङ्गले उभ्याउन चाहन्छन्। उनी भन्छन्, “म रातारात चर्चामा आउनभन्दा पनि एउटा लामो र अर्थपूर्ण यात्राको सोच लिएर यस क्षेत्रमा आएको हुँ।”
चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा पन्त जस्ता स्थापित कलाकारहरूको मुख्य अभिनय रहेको छ।






