
काठमाडौं – नेपाली चलचित्र ‘शिवांश’मा विश्व प्रख्यात भारतीय गायक कैलाश खेरको स्वर समेटिएको छ। आगामी फागुन १ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको यस चलचित्रमा खेरले शक्तिशाली ‘शिव ताण्डव स्तोत्रम्’ गाएका हुन्। निर्माण पक्षले हालै चलचित्रमा खेरको विशेष साङ्गीतिक योगदान रहेको पुष्टि गरेको छ।
गायक कैलाश खेरले एक भिडियो सन्देश जारी गर्दै नेपाली चलचित्रसँगको यो सहकार्यलाई भारत र नेपालबीचको प्रगाढ मैत्री सम्बन्धको कडीका रूपमा व्याख्या गरेका छन्। नेपाली श्रोताहरूबाट सदैव अगाध माया पाएको उल्लेख गर्दै उनले ‘शिवांश’को यो गीत आफ्ना लागि विशेष रहेको बताएका छन्। ओजपूर्ण आवाजका धनी खेरको यो प्रस्तुतिले चलचित्रको गरिमा अझ बढाउने अपेक्षा गरिएको छ।
अञ्जान केसीको निर्माण र सन्तोष कुमार आत्रेयको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी, रुसा न्यौपाने, विमला लिम्बू र विकास जोशी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। चलचित्रको हालै सार्वजनिक पोस्टरमा कलाकारहरूलाई रौद्र र तनावपूर्ण मुद्रामा देखाइएको छ, जसले कथामा रहेको गम्भीर द्वन्द्वलाई सङ्केत गर्दछ।






