‘कुमारी’का निर्देशक राउतले लेखे थिएटर टेक्निसियनलाई पत्र



काठमाडौं – निर्देशक दिनेश राउतको प्रतीक्षित चलचित्र ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ। प्रदर्शनको पूर्व सन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निष्टहरूलाई पत्राचार गर्दै चलचित्रको ध्वनि गुणस्तरका बारेमा प्राविधिक जानकारी गराएका छन्।

चलचित्र ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको छ। दर्शकहरूले Dolby Atmos, DTS:X र AuroMax जस्ता उच्च प्रविधि जडित हलहरूमा पूर्ण सिनेम्याटिक अनुभव लिन सकुन् भन्ने उद्देश्यले चलचित्रको साउन्ड डिजाइन गरिएको निर्माण पक्षले जनाएको छ।

निर्देशक राउतका अनुसार चलचित्रको साउन्ड मिक्सिङ र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ। ध्वनिको ‘डाइनामिक्स’ सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको महसुस गराउन यो स्तर कायम गरिएको हो।

निर्माण टोलीले सिनेमा हलहरूमा प्रदर्शन पूर्व नै ५.५ फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ। चलचित्रको प्रभावकारी प्रस्तुतिमा कमी नआओस् भन्नका लागि हलहरूलाई ५.५ भन्दा कम भोल्युम युनिटमा चलचित्र प्रदर्शन नगर्न अनुरोध गरिएको निर्देशक राउतले बताए। “हामीले रचनात्मक रूपमै ५.५ फेडर युनिटलाई आधार मानेर काम गरेका हौँ। दर्शकले उत्कृष्ट अनुभव प्राप्त गरून् भन्नका लागि व्यावसायिक प्रदर्शन अघि एक पटक अनिवार्य ‘टेस्ट रन’ गरिदिन हामी आग्रह गर्दछौँ,” पत्रमा लेखिएको छ।

उच्च प्राविधिक मापदण्डमा तयार पारिएको ‘कुमारी’ले नेपाली चलचित्रको प्राविधिक स्तरलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ। अबिशेक खड्का र आकृति राजभन्डारीको प्रमुख अभिनय रहेको तथा महेन्द्र अधिकारी निर्माता रहेको यो चलचित्रलाई लिएर दर्शक र प्रदर्शक दुवैमा उत्साह देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu