डेब्यु फिल्म ‘कुमारी’ रिलिज अगावै अभिषेक खड्काको नयाँ फिल्म घोषणा, हरिवंशसँग ‘श्रीनिवास’मा देखिने



काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा डेब्यु फिल्म प्रदर्शन नहुँदै नयाँ फिल्ममा अनुबन्धित हुनुलाई कलाकारको बढ्दो क्रेज र सम्भावनाको रूपमा हेरिन्छ। यस्तै अवसर नायक अभिषेक खड्काको हकमा जुरेको छ। उनको पहिलो चलचित्र ‘कुमारी’ यही माघ २३ गतेबाट देशभर रिलिज हुने तयारीमा रहँदा, सो फिल्म रिलिज हुनु अगावै अभिषेकले अर्को ठुलो ब्यानरको चलचित्र ‘श्रीनिवास’ मा मुख्य भूमिका पक्का गरेका छन्।
गएको दशैँमा व्यावसायिक सफलता र सकारात्मक प्रतिक्रिया बटुलेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण गर्ने टिमले नै आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘श्रीनिवास’ घोषणा गरेको हो। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने यस चलचित्रमा अभिषेकले नेपाली चलचित्रका दिग्गज कलाकार हरिवंश आचार्यसँग मुख्य भूमिकामा अभिनय गर्नेछन्। ‘कुमारी’ को चर्चासँगै अभिषेकलाई निर्माण पक्षले यो नयाँ प्रोजेक्टका लागि रोजेको हो, जसले उनको करियरमा एउटा महत्वपूर्ण इँटा थप्ने देखिएको छ।
सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने यस चलचित्रलाई ‘बेहुली फ्रम मेघौली’ फेम निर्देशकद्वय साजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्दैछन्। अभिमन्यु निरावीको लेखन रहने यस चलचित्रले अनुभवी र नयाँ पुस्ताको कलाकारलाई एकैसाथ पर्दामा उतार्न लागेको हो। डेब्यु फिल्मको परीक्षा बाँकी छँदै अभिषेकले पाएको यो अवसरलाई फिल्म वृत्तमा निकै चासोका साथ हेरिएको छ। फिल्मका अन्य कलाकार र प्राविधिक पक्षबारे निर्माण टिमले छिट्टै जानकारी दिने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu