‘श्री बुकुरो’को मर्मस्पर्शी ट्रेलर रिलिज



Screenshot

काठमाडौं – आगामी फागुन १ गते अर्थात् महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशको मौलिकता र पारिवारिक सम्बन्धको गहिराइलाई समेटेर निर्माण गरिएको यस चलचित्रको ट्रेलरले दर्शकमाझ भावनात्मक उत्साह सञ्चार गरेको छ। विशेष गरी एउटा सानो ‘बुकुरो’ (घर) बनाउने सपना, सन्तानको सुख र पारिवारिक मिलन-बिछोडलाई कथाको मेरुदण्ड बनाइएको ट्रेलरमा लक्ष्मी गिरीलाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ।

करिब साढे तीन मिनेट लामो यो ट्रेलर काव्यात्मक शैलीमा तयार पारिएको छ। यसले मानवीय संवेदना, पात्रहरूको आन्तरिक द्वन्द्व र जीवनप्रतिका अपेक्षालाई सूक्ष्म रूपमा प्रस्तुत गर्दै दर्शकलाई एउटा छुट्टै मनोदशामा पुर्‍याउँछ। चलचित्रलाई विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक श्रेणीमा राखिएको छ, जसले पछिल्लो समय सामाजिक कथावस्तु रुचाउने नेपाली दर्शकलाई आकर्षित गर्ने देखिन्छ।

यो चलचित्रमार्फत निर्देशक सुदीप भूपाल सिंह करिब ९ वर्षको अन्तरालपछि निर्देशनमा फर्किएका हुन्। यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चलचित्र निर्देशन गरिसकेका सिंहले यस पटक आफ्नै लेखनमा एउटा फरक पारिवारिक कथा पस्किएका छन्। यसअघि सार्वजनिक भएका टिजर र पोस्टरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको अवस्थामा ट्रेलरले फिल्मप्रतिको अपेक्षालाई थप बलियो बनाएको निर्माण पक्षको विश्वास छ।

फिल्म रेञ्जको ब्यानरमा रुबी सेन सिंहद्वारा निर्मित यस चलचित्रमा कलाकारहरूको लामो सूची छ। लक्ष्मी गिरीको साथमा आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी र रश्मि भट्ट लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न पाइनेछ। 

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu