
काठमाडौं – नेपाली चलचित्र क्षेत्रका सशक्त अभिनेता सुनिल थापाको निधनको कारण खुलेको छ। आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सम्पन्न पोस्टमार्टमको प्रारम्भिक नतिजाले उनको मृत्युको मुख्य कारण हृदयघात रहेको देखाएको हो।
अस्पताल स्रोतले दिएको जानकारी अनुसार अभिनेता थापाको मुटुको नसामा अवरोध सिर्जना भई (ब्लक भएर) हृदयघात हुँदा ज्यान गएको पुष्टि भएको छ। पोस्टमार्टम प्रक्रियामा संलग्न चिकित्सकहरूले पनि स्वास्थ्य परीक्षणको रिपोर्ट उद्धृत गर्दै हृदयघातकै कारण उनको आकस्मिक निधन भएको निष्कर्ष निकालेका छन्।
स्मरण रहोस्, ६८ वर्षीय वरिष्ठ अभिनेता थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो। शनिबार बिहान घरमै स्वास्थ्यमा अचानक असहजता महसुस भएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो।
पोस्टमार्टम प्रक्रिया सकिएसँगै दिवंगत थापाको पार्थिव शरीरलाई परिवारको जिम्मा लगाइएको छ। नेपाली रजतपटमा लामो समय अविस्मरणीय योगदान पुर्याएका थापाप्रति अन्तिम सम्मान प्रकट गर्न उनको शवलाई चलचित्र विकास बोर्डको परिसरमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। जहाँ कलाकार, शुभचिन्तक तथा सर्वसाधारणले उनीप्रति अन्तिम श्रद्धासुमन अर्पण गर्न सक्नेछन्।






