राष्ट्रिय झन्डा ओढाउँदै कलाकार सुनिल थापाको अन्त्येष्टि



काठमाडौं – नेपाली रजतपटमा आफ्नो सशक्त अभिनयमार्फत अमिट छाप छोड्न सफल दिग्गज कलाकार सुनिल थापा अब स्मृतिमा मात्र सीमित भएका छन्। शनिवार हृदय घातका कारण निधन भएका ६८ वर्षीय थापाको आइतबार दिउसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

आइतबार अपराह्न ४ बजे बागमती किनारको शोकमग्न वातावरणमा हिन्दु परम्परा अनुसार उनको दाहसंस्कार सम्पन्न भयो। भाव विह्वल मुद्रामा रहेका छोरा अनमोलले बुबाको पार्थिव शरीरमा दागबत्ती दिए। थापाको अन्तिम बिदाइको क्षण निकै मार्मिक देखिन्थ्यो। अन्त्येष्टि पूर्व थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर राज्यका तर्फबाट उच्च सम्मान व्यक्त गरिएको थियो।

यसअघि आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सकिए लगत्तै थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय परिसरमा राखिएको थियो। त्यहाँ नेपाली चलचित्र क्षेत्रका हस्तीहरू, राजनीतिज्ञ तथा शुभचिन्तकहरूले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। दिउँसो २ बजेतिर बोर्डको कार्यालयबाट फूल मालाले सजिएको विशेष वाहनमा राखेर उनको शवयात्रा पशुपति आर्यघाटतर्फ लगिएको थियो।

शनिवार बिहान शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा अचेत अवस्थामा भेटिएका थापालाई तत्कालै उनका सहयोगीले नर्भिक अस्पताल पुर्‍याएका थिए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। काम र बसोबासका सिलसिलामा मुम्बईमा रहेका उनकी श्रीमती, एक छोरा र एक छोरी शनिवार साँझ काठमाडौं आइपुगेपछि आइतबार अन्तिम संस्कार गरिएको हो।

तीन दशक लामो अभिनय यात्रामा डेढ सयभन्दा बढी चलचित्रमा जीवन्त अभिनय गरेका थापालाई दर्शकले सदाबहार खलनायक तर वास्तविक जीवनका असल नायकका रूपमा सम्झिरहनेछन्।

थापाको निधनले नेपाली कला क्षेत्र मात्र नभई बलिउडलाई समेत स्तब्ध बनाएको छ। हिन्दी चलचित्र ‘मेरी कोम’ मा सहकार्य गरेकी विश्व चर्चित अभिनेत्री प्रियङ्का चोपडाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै कठिन समयमा थापाले दिएको हौसलाको स्मरण गरेकी छन्। यस्तै, भारतीय अभिनेता मनोज बाजपेयीले पनि थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपाली चलचित्र क्षेत्रले एक अभिभावक र सशक्त अभिनेता गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu