
काठमाडौं – षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’ ले आफ्नो प्रदर्शन मिति घोषणासँगै प्रचारप्रसारको आरम्भ गरेको छ। निर्माण पक्षले चलचित्रको आधिकारिक टिजर सार्वजनिक गर्दै आगामी वर्ष अर्थात् वि.सं. २०८३ साल वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गरेको हो। सार्वजनिक टिजरले चलचित्रको मूल कथासार र पात्रहरूको चरित्र चित्रणमार्फत दर्शकमाझ कौतूहल सिर्जना गरेको छ।
बर्दियाको राजापुर क्षेत्रको मौलिक परिवेशमा छायाङ्कन गरिएको यो चलचित्रमा चर्चित अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता रवीन्द्रसिंह बानियाँको मुख्य भूमिका रहेको छ। विशेष गरी, अभिनेत्री खड्काको नियमितभन्दा नितान्त भिन्न र चुनौतीपूर्ण भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढाएको छ। चलचित्रमा समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। साथै, यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
चलचित्रको लेखन तथा निर्देशन यम थापाले गरेका छन्। उनलाई पटकथा र संवादमा चर्चित निर्देशक प्रदीप भट्टराईले साथ दिएका छन्। भट्टराई स्वयं चलचित्रका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको जिम्मेवारी म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले सम्हालेका छन्। चलचित्रको सबल पक्षका रूपमा यसको प्राविधिक टोलीलाई पनि लिइएको छ।
क्रिएटिभ निर्देशक जेबी रुवाली रहेको यस चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र सुशन प्रजापतिको छायाङ्कन रहेको छ। चलचित्रको सम्पादन मित्रदेव गुरुङले गरेका छन् भने रेनिश फागोले रङ्ग संयोजन गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गरेका छन्।
टिजरः






