
काठमाडौं – आगामी फागुन २९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको चलचित्र ‘लालिमा’को टिजर दर्शकमाझ आएको छ। निर्माण पक्षले प्रचारप्रसारको आरम्भ गर्दै मङ्गलवार साँझ ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा चलचित्रकी शीर्ष अभिनेत्री रोशनी कार्कीलाई केन्द्रबिन्दुमा राखिएको छ। टिजरमा संवाद भन्दा पनि दृश्यको गहिराइमार्फत कथा वाचन गर्ने प्रयास गरिएको देखिन्छ, जसमा अभिनेत्री कार्की एक बन्द कोठाभित्र चरम मानसिक तनाव र छटपटीमा रुमलिरहेको अवस्थामा प्रस्तुत भएकी छिन्। उनको एकल उपस्थिति र रहस्यमय हाउभाउले चलचित्रको कथावस्तु सस्पेन्स र थ्रिलर विधामा केन्द्रित रहेको सङ्केत गरेको छ।
चलचित्रको विषयवस्तु निकै संवेदनशील र यथार्थपरक रहेको बुझिएको छ। लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो चलचित्र केवल काल्पनिक कथामा मात्र सीमित छैन। यसको पटकथा करिब तीन हजार यौनकर्मीहरूको प्रत्यक्ष अनुभव र उनीहरूले भोगेका वास्तविक घटनाहरूको निचोडमा आधारित रहेर तयार पारिएको दाबी गरिएको छ। निर्देशक मिराजले समाजको ओझेलमा परेको यो पाटोलाई पर्दामार्फत उजागर गर्ने प्रयास गरेका छन्।
फेथ आस्थाको ब्यानरमा निर्माण भएको यस चलचित्रमा कार्यकारी निर्माताको जिम्मेवारी रीना लामाले सम्हालेकी छिन्। चलचित्रमा रोशनी कार्कीका साथै रङ्गमञ्च र पर्दाका सशक्त अभिनेताहरू शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको मुख्य भूमिका रहेको छ। टिजरले सिर्जना गरेको कौतुहलताले दर्शकलाई हलसम्म तान्न सक्ने निर्माण पक्षको विश्वास छ।
टिजरः






