‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मणको ‘सिल्भर स्क्रिन’ डेब्यु: ‘भटभटे’ मार्फत तराईको कथा भन्ने तयारी



काठमाडौं – टेलिभिजनको पर्दामा चर्चित रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ मार्फत आफ्नो बेग्लै पहिचान बनाएका निर्देशक लक्ष्मण पौड्याल अब ठूलो पर्दामा कथा भन्न तम्सिएका छन्। करिब दुई दशकदेखि टेलिभिजन क्षेत्रमा राज गरिरहेका पौड्यालले आफ्नो पहिलो निर्देशकीय कथानक चलचित्र ‘भटभटे’को बिहीबार अनौपचारिक शुभ मुहूर्त गरेका छन्।

रोमान्टिक कमेडी र सामाजिक कथावस्तुको समिश्रण रहने बताइएको यो चलचित्रको कथा चर्चित आख्यानकार नयनराज पाण्डेले तयार पारेका हुन् भने पटकथा स्वयं निर्देशक पौड्यालको रहेको छ। तराईको परिवेशमा केन्द्रित रहने चलचित्रमा युवापुस्ताको लोकप्रिय समूह ‘कार्टुन्ज क्रु’बाट चर्चित भएका सविन कार्की र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिनेछन्। साथमा रविन्द्र झा, प्रमोद अग्रहरि लगायतका कलाकारहरूको अभिनय रहने जनाइएको छ।

चलचित्रको नाम नै ‘भटभटे’ राखिनुको पछाडि विशेष अर्थ लुकेको छ। निर्देशक पौड्यालका अनुसार तराई क्षेत्रमा मोटरसाइकललाई ‘भटभटे’ भन्ने गरिन्छ र त्यहाँ यो सवारी साधन केवल यातायातको माध्यम मात्र नभई सामाजिक प्रतिष्ठा र दाइजो प्रथासँग पनि गहिरो रूपमा जोडिएको छ। हरेक युवाको सपनाको रूपमा रहेको मोटरसाइकल प्राप्तिका लागि गर्नुपर्ने संघर्ष र त्यससँग जोडिएका मानवीय भावनाहरूलाई चलचित्रले मूल विषयवस्तु बनाएको छ।

विशेष गरी सांगीतिक रियालिटी शोको निर्देशनमा पोख्त पौड्यालले आफ्नो चलचित्रमा पनि संगीतलाई विशेष प्राथमिकता दिएका छन्। चलचित्रमा ‘भ्वाइस अफ नेपाल’ सँग आबद्ध हस्तीहरू खेम सेन्चुरी, कोच प्रमोद खरेल तथा हालै ‘पूर्णबहादुरको सारंगी’ मार्फत चर्चामा आएका प्रशान्त शिवाकोटी र करणराज कार्कीको संगीत रहनेछ।

विगतमा हिन्दी चलचित्र ‘भूत अंकल’मा सहायक निर्देशनको अनुभव बटुलिसकेका पौड्यालका लागि स्वतन्त्र निर्देशकका रूपमा यो पहिलो कोसेढुङ्गा हुनेछ। व्यवसायी सुरेश कार्कीको लगानी रहने यो प्रोजेक्टको अनुमानित बजेट ३ देखि ४ करोड रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu